Logo

रविको सांसद पद जानेमा एमाले ढुक्क, गोकुल भन्छन्: चितवनलाई फेरि जान्नेलाई छान्ने चान्स आउने भयो



काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् । सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने बाँस्कोटाले दाबी गरेका हुन् ।

संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्ष-विपक्षमा बहस भइरहेको छ।

सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहेका छन् भने लामिछाने पक्ष पनि आफू निर्दोष प्रमाणित भएको दाबी गर्दै भ्रम फैलाईरहेका छन् । यस्तैमा पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले व्यंग्य गर्दै चितवनमा फेरि उपचुनाव हुने दाबी गरेका हुन् ।

बास्कोटा लेख्छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो । पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पपुलर मतसहित पुनः विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्