Logo

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, यस्तो छ प्रदेश सभाको अंकगणित



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ उपधारा २ अनुसार उनले विश्वासको मत मागेका हुन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको बताए।  

‘मेरो नेतृत्वमा कोसी प्रदेश सरकार गठन भएयता केहि सकारात्मक संदेश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न गरीएको छ’ उनले भने, ‘धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकासका निम्ति पाथिभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१, हलेशी महादेवस्थान विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गरि कार्यान्वयनको चरणमा रहेकोछ।’

प्रदेशको पर्यटन प्रर्वद्धनका लागि सार्वजानिक निजि सहकारी लगानीको अवधारणा अनुसार भेडेटार स्कईवाक परियोजना संचालन र ट्रायल पास हुने बित्तिकै लाइसेन्स वितरण जस्ता विषयले प्रदेश उत्साह छाएको उनले बताउनुभयो ।

उनले विगतका तिता बिर्सिएर सकारात्मक अभ्यासबाट अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनाविपरीत प्रकट भएका विचलनहरु रोक्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका लागि आर्थिक शिथिलता, दण्डहिनता र निराशालाई चिर्दै प्रदेशवासी जनतामा प्रदेश संरचना प्रति आशा र भरोसा पैदा गर्ने विश्वास दिलाए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

केन्द्रमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्