Logo

कोशीका मुख्यमन्त्रीलाई दुई तिहाई मत, पक्षमा ६६, विपक्षमा १५ मत



काठमाडौं,२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा कार्कीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमा मतदान हुँदा उनको पक्षमा दुईतिहाई सांसदले मत दिएका हुन् ।

प्रदेश सभामा रहेका ९३ सांसदमध्ये आजको बैठकमा ८३ सांसद उपस्थित भएको र त्यसमा ६६ सांसदले पक्षमा , १५सांसदले विपक्षमा मत जाहेर गरेका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । त्यस्तै २ जना सांसद मत विभाजन प्रकृयामा सामेल भएनन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

केन्द्रमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्