Logo

रास्वपामा अहिले रविले गरेको पापको भारी कसले बढी बोक्ने प्रतिस्पर्धा चलेको छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोरखा मिडिया प्रालि नामको कम्पनी सहकारी ठगेरै खोलिएको बताएका छन् ।

बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “गोरखा मिडिया प्रालि त कस्तो कम्पनी रहेछ भने एक पैसा पनि आफ्नो गोजीबाट नहालिएको, खोल्दा पनि सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ,” गगनले भने ।

फरक प्रसंगमा पूर्व मन्त्री थापाले रास्वपामा अहिले सभापति रवि लामिछानेले गरेको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् । ‘त्यहाँ त अध्यक्षको पापको भारी, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि ताली बजाएको छ, उसले पनि ताली बजाएको छ, नाम पार्टीको स्वतन्त्र छ, मान्छे कोही पनि स्वतन्त्र छैन’, उनले भने, ‘कसले ताली बढी बजाउने भन्ने प्रतिस्पर्धा छ ।’

संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताए । कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको भन्दै थापाले यो विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्