Logo

सहकारी ठगीको आरोप पुष्टि नभएपछि रवि लामिछानेले क्लिन चिट पाएकै होः शिशिर खनाल (भिडिओसहित)



काठमाडौं, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगको आरोपबाट पूर्ण रुपमा सफाइ पाएको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेले सहकारी ठगको मूल आरोपबाट क्लिन चिट पाएको दाबी गरेका हुन् । नेता खनाल सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सदस्यसमेत हुन् ।

‘सहकारीको पैसा रवि लामिछानेले लग्यो, त्यही भएर छानविन हुनुपर्छ भनेको हो नि त । आरोप त त्यही हो । त्यो छैन भनिसकेपछि उहाँ आरोपबाट पूर्णरुपमा मुक्त हुनुभयो ।’ उनले भने, ‘यो समितिले रवि लामिछानेले सहकारीबाट पैसा लिएको कुनै पनि प्रमाण भेटिएन भन्यो । जुन मूल आरोप थियो, त्यो यो समितिले खण्डित गरिदियो । रवि लामिछानेले सहकारीबाट पैसा लग्नुभएको छैन भनेर यो समितिले भन्यो ।’

सहकारीबाट रकम लग्ने र योजना बनाउने प्रक्रियामा लामिछानेको कुनै संलग्नता नरहेको पुष्टि भएको उनले बताए । समितिले जिबी राईले सहकारीबाट पैसा लिएको कुरा रवि लामिछानेलाई थाहा थिएन भनेर समितिले अनुमान गरेको उनको दाबी छ । जे आरोप लागेको हो त्यो पुष्टि नभएपछि त्यसलाई क्लिन चिट भन्नुपर्ने उनको दाबी छ । गोर्खा मिडियाले सहकारीबाट लोन लिएको कुरालाई जिबी राईले मैले लोन लिएको भनेर अडिट रिपोर्टमा हस्ताक्षर भएको उनले बताए ।

‘जे आरोप लागेको थियो, त्यो सिद्ध नहुनुलाई क्लिन चिट भनिन्छ । गोर्खा मिडियाको दृष्टिकोणबाट हेर्दाखेरी त्यो पैसा जिबी राईले दिएको हो । त्यो पैसा जिबी राईले मैले लिएको हो भनेर अडिट रिपोर्टमा हस्ताक्षर गर्नुभएको छ ।’ उनले भने, सहकारीबाट गोर्खा मिडियामा पैसा गएको देखियो । तर, गोर्खा मिडियाको अडिट रिपोर्टले के भन्छ भने आएको पैसा जिबी राईले पैसा लोनमा दिएको भनेर पनि लेखेको छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्