Logo

उत्ताउला नेताहरुले संविधानमाथि खेलाची गरे, वर्तमान सरकार पनि संवैधानिक रुपले अवैध छः पूर्वन्यायाधीश केसी



काठमाडौं, ३ असोज । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले सरकारीस्तरमा संविधान दिवस मनाउनु हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान दिवस सरकारले मनाउनु भन्दा पनि जनस्तरमा मनाइनुपर्ने बताएका हुन् । संविधान कार्यान्वयनको १० वर्षमा नै यसमाथि धेरै बदमासी गरिएको उनको आरोप छ । उक्त अवधिमा यो संविधानलाई धेरै पटक धक्का दिइएको उनको भनाइ छ । संसद् विघटन, वर्तमान सरकारको बनावटलगायतका घटनाहरु उल्लेख गर्दै उनले उत्ताउला नेताहरुले संविधानमाथि खेलाची गरेको बताए ।

पूर्व न्यायाधीश केसीले अहिले संविधान संशोधन गर्ने बेला नै नभएको बताए । अहिले कतिपय कानुन बन्न बाँकी नै रहेको र संविधानको सबै धारा क्रियाशील नै नभइसकेको अवस्थामा यसमा संशोधन गर्न नहुने उनको भनाइ छ ।

‘यो ९ वर्षमा यसलाई एक दर्जन पटक धक्का दिइसकियो । संसद् विघटन गरियो, अध्यादेश जारी गरियो, खेलवाड गरियो, अहिले पनि उपसभामुखप्रति षड्यन्त्र गरिँदैछ । यी सबै संविधान उल्लङ्घनका घटनाहरु हुन् । सबैभन्दा पुरानो संविधान अमेरिकाको हो, उ २४७ वर्ष पुग्यो । कतिराम्रोसँग स्याहार गरिराखिएको छ । हाम्रो भर्खर ९ वर्ष भयो । यसलाई खेलाची गरिराखिएको छ ।’ उनले भने, ‘आज हेर्नुभयो भने अहिलेको सरकार गठन पनि अवैध छ । संघीयता कार्यान्वयन गर्न दर्जनौं कानुन बन्न बाँकी छ । कति उत्ताउला हाम्रा नेताहरु छन् भने अहिले यो संविधान संशोधन गर्न पर्यो भन्छन् । संविधानका सबै धारा क्रियाशील भएर संविधान पूर्ण रुपमा लागू भइसकेपछि अनी कुरा गर्नु हो नि । कानुन बनाएर संघीयता लागू गर्न सकिएको छैन ।’

राजनीतिक रुपले वर्तमान सरकार बन्नु ठीक भएतापनि संवैधानिक रुपले यसलाई ठीक मान्न नसकिने उनको तर्क छ । संवैधानिक प्रजातन्त्रमा कहिले पनि संसद्का दुई ठूला दल मिलेर सरकार बनाउन नहुने उनले बताए । ‘आजको सरकार मैले यसलाई अवैध किन भन्छु भने राजनीतिक रुपले यो ठीक होला । तर, संवैधानिक रुपले यो ठीक छैन । दुई ठूला पार्टीले सरकार बनाएको छ । संवैधानिक संसदीय प्रजातन्त्रमा कहिले पनि दुई ठूला दलले सरकार बनाउन हुँदैन,’– उनले भने ।

संसदका दुई ठूला दल मिलेर चेक एण्ड ब्यालेन्स नहुने उनले बताए । सरकारलाई निरङ्कुश हुन नदिन सशक्त प्रतिपक्षी चाहिने उनले बताए । ‘हाम्रो यहाँ नाङ्गो नाच भइराखेको छ । यस्तो अवस्थामा सरकारी स्तरबाट संविधान दिवस मनाउनु हाँस्यास्पद हो । राम्रोसँग बच्चालाई हुर्काउनै सकेका छैनन्,’– पूर्व न्यायाधीश केसीले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्