Logo

संविधान दिवसमा ठूला दलका शीर्ष नेताप्रति झलनाथको आक्रोश



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ठूला दलका शीर्ष नेताप्रति आक्रोश पोखेका छन् । १०औं संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ठूला दलले काण्डको माला भिरेर समृद्धिको सपना देखाएको भन्दै आक्रोश पोखेका हुन् ।

‘बर्तमान संविधान जारी भए पछिका यी ९ वर्षमा हामीले ९ वटै नीति कार्यक्रम, ९ वटै वार्षिक बजेट र २ वटा पञ्चवर्षीय योजनाहरू लागू गरिसकेका छौं र विकास निर्माणको नाममा खरबौ खरब मुलुकभित्र खन्याई सकेका छौं । तर छातीमा हात राखेर हेरौँ यो देशमा श्रमजीवी जनताको जीवनमा परिवर्तन भएन, यो देशका किसान जनताको जीवनमा कुनै परिवर्तन भएन, यो देशका निम्न वर्गीय र यहाँ सम्म कि निम्न मध्यम वर्गीय जनताको जीवनस्तरमा पनि खास परिवर्तन आउन सकेन’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भनेका छन् ।

“ठूला हौँ” भन्ने पार्टीका नेताहरू भन्दै खनालले शीर्ष नेतालाई कयन प्रश्न तेर्साएका छन् । ‘आखिर कहाँ बगेर गयो त्यत्रो विपुल बजेटको लगानी ? किन मुठ्ठीभरका माथिल्ला वर्गका भ्रष्टाचारी, तस्कर, कालाबजारी र दलाल पुँजीपतिहरू मात्र करोडपतिबाट अरबपति खरबपति बन्दै गइरहेका छन ? यो देशका ठूला हौ भन्ने पार्टीका नेतृत्व पंक्तिका व्यक्तिहरू कसरी काण्डै काण्डका माला भिरेर हिँडिरहेका छन् ? किन यो देशमा भूमि क्रान्ति, कृषि क्रान्ति, औद्योगिक क्रान्ति र निर्माण क्रान्ति हुन सक्तैन ? आखिर भ्रष्टाचार, बिरोजगारी र मंहगीको मारमा किन यो देशका श्रमिक जनता पिल्सिनु परिरहेको छ ? अनि किन हाम्रो देशका बेरोजगार युवाहरू र विद्यार्थीहरू समेत विदेशतिर ओहिरो लागेर जान बाध्य भइरहेका छन ?यति धेरै प्राकृतिक, सामाजिक र सांस्कृतिक साधन श्रोतले सम्पन्न देशलाई किन योजनाबद्ध रुपले जन आवश्यकता अनुरुपको विकास र निर्माणमा अघि बढाउन सकिएको छैन यहि संविधान अन्तर्गत एउटा पार्टीलाई दुईतिहाइ बहुमत प्राप्त हुँदा पनि किन यी काम गर्न सकिएन ?’ उनले भनेका छन् ।

खनालले आफ्ना यी प्रश्नहरूको जवाफ ठूला पार्टीका नेताहरूसँग नभएको दाबी गरेका छन् ।आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहिनता, लक्ष्यहिनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहिनता, नैतिकहिनता र निष्ठा विहिनताको अनिवार्य परिणाम भएको उनको जिकिर छ । ‘वर्तमान संविधानको भाग ४ मा उल्लेखित कामहरूलाई मात्र पनि ठीक ढंगले लागू गरेको भए आज देश धेरै अघि बढी सक्ने थियो । त्यसैकारण आज हाम्रो देशका युवा र आम जनता वर्तमान संविधानका प्रगतिशील पक्षहरू किन लागू भएनन् ? तिनीहरूलाई लागू गर्न ठूला पार्टीहरूलाई केले रोक्यो ? आज किन उनीहरू “संविधान संशोधनको हल्ला” मच्चाइरहेका छन ? यी प्रश्नमा बिचार गदैछन र उनीहरु त्यसैले के निष्कर्षमा पुग्दैछन् भने अब देशमा दलाल पुँजीवादको रजगजलाई चुपचाप हेरेर हुँदैन । जनता र राष्ट्रका समस्याहरू दलाल पुँजीवादले समाधान गर्न सक्तैन । त्यसले देशलाई हर दिन चौतर्फि संकटतिर लागिरहेछ । देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिदै गइरहेछ’ उनले भनेका छन् ।

खनालले राष्ट्रियता माथिको संकट चर्को बनिरहेको र विदेशी सेनाहरू अनेक बहानामा हाम्रो मातृभूमिको छातीमा बुट बजार्न थालेको बताएका छन्। ‘आम जनतामा असन्तोष, विरोध र आक्रोश उम्लिरहेको छ । उनीहरू समाजवाद र समृद्धिको बाटो खोजिरहेका छन् । संविधानमा उल्लेखित समाजवाद कता हराइरहेको छ ? ठूला पार्टीका वक्तव्य र भाषणबाट किन समाजवाद गायब भइरहेछ ? आम जनता व्यग्रताका साथ समाजवाद खोजिरहेछन् । आजको भ्रष्ट प्रणालीको विकल्प खोजिरहेका छन् । संविधानमा उल्लेखित समाजवादको वास्तविक रूप खोजिरहेछन्’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्