Logo

वर्तमान संविधानमा आदिवासी जनजाति, मधेशी, मुस्लिम र उत्पीडित वर्गको अपनत्व छैनः पहिचानवादी नेता राई



काठमाडौं, ३ भदौ । पहिचानवादी नेता नागिन्द्र राईले वर्तमान संविधानमा आदिवासी जनजाति र मधेशी समुदायले उठाएका मुद्दाहरु सम्बोधन नभएको बताएका छन् । संविधान दिसवको अवसर पारेर आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संविधानले आदिवासी जनजाति, मधेशी र मुस्लिमहरुमाथि पक्षपात गरेको बताए ।

‘यो संविधान जारी हुँदाखेरी मधेशी, आदिवासी समुदायले उठाएका एजेण्डाहरु यो संविधानमा समावेश हुन सकेन । यो संविधानमा आदिवासी जनजातिहरुको, मधेशी र मुस्लिमहरुको अपनत्व र स्वामित्व छैन । यो संविधानले हामीमाथि अहिले पनि पक्षपात गरिरहेको छ,’– उनले भने ।

आफूहरुले पहिचान र स्वयत्ततामा आधारित संघीय संरचना, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री, राज्यको सम्पूर्ण अंगहरुको समान प्रतिनिधित्व, भाषिक, सास्कृतिक समानता, प्राकृतिक स्रोत साधनमा पहुँचको कुराहरु उठाएपनि यो संविधानले दिन नसकेको उनले बताए ।

आदिवासी जनजाति, मधेशी र उत्पीडित वर्ग समुदायका लागि वर्तमान संविधान समस्याको रुपमा नै रहेको उनले दाबी गरे । आफूहरुले वर्तमान संविधानलाई पुनर्लेखन गरेर समस्याको निकाय निकाल्न चाहेको बताए ।

यद्यपि, वर्तमान संविधानले नाममात्रैको भएपनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई समावेश गरेको उनले बताए । कांग्रेस–एमालेले गठबन्धन गर्दा भएको सम्झौतामा यसरी प्राप्त भएका सीमित अधिकारहरुलाई पनि कटौति गर्ने सहमति गरेको उनले बताए । उनले कांग्रेस–एमालेको उक्त कदमलाई प्रतिगामी कदमको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्