Logo

वर्तमान संविधानलाई ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैया होः ज्ञानेन्द्र शाही



काठमाडौं, ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले व्यवस्था परिवर्तनका बहानामा नाममात्रै परिवर्तन गरेर जनतालाई बेकुफ बनाउने काम भएको बताएका छन् । संविधान दिवसको अवसर पारेर आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजाको पाउमा दाम चढाएका र पञ्चायत कालमा मन्त्री बनेकाहरुले अहिले पनि शासन चलाएर व्यवस्था परिवर्तन भयो भनिरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन भएर नाममात्रै परिवर्तन भएको बताएका हुन् ।

‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाममात्रै परिवर्तन गरेर हुन्छ । यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्यौं भन्छन् । के परिवर्तन गर्यौ ? पञ्चायत कालमा मन्त्री भएकाहरु गणतन्त्रमा पनि छन् । राजाको खुट्टामा दाम चढाएका शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन् । व्यक्ति परिवर्तन भयो ? भएन । सिस्टम परिवर्तन भयो ? भएन, नाममात्रै परिवर्तन भयो,’– उनले भने ।

नेता शाहीले नेपालको संविधानमा नागरिकहरुका लागि मौलिक हकको व्यवस्था गरिए पनि त्यो कार्यान्वयन नहुँदा शासकहरुलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए । सांसदबाट विकास र प्रहरीबाट न्याय खोजेर जनताले पनि अहिले पञ्चायती व्यवस्था मानिरहेको उनको टिप्पणी छ । ‘जनताले पञ्चायत व्यवस्था मानिरहेका छन् । सांसद्ले विकास गरोस् सोचिरहेका छन्, पुलिसले न्याय दिन्छ भनिरहेका छन् । जनताको माइन्ड अहिले पनि पञ्चायतकै छ,’– उनले भने ।

वर्तमान संविधानकै कारण जनता अहिले अन्यायमा रहेको उनले बताए । न्याय पाउन नसक्दा सर्वसाधरणहरुले सर्वोच्च अदालत अगाडि आत्महत्या गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘विचरा जनताले न्याय नपाएर सर्वोच्च अदालत अगाडि आत्महत्या गर्न बाध्य भइरहेका छन्,’– उनले भने ।

वर्तमान व्यवस्था ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैयाबाहेक अर्को कोही हुन नसक्ने उनको भनाइ छ । नेता शाहीले लुट्न पाएकाहरुले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक भनिरहेका बताए । ‘यही व्यवस्था ठीक भन्नेमान्छे राजनीतिक कमैया र दासबाहेक अरुले भन्दैन । जसले खान पाएको छ, जसले स्थानीय तह लुट्न पाएको छ, जसले प्रदेश लुट्न पाएको छ । त्यो परिवर्तन गरौं भन्दा हामीलाई तिमीले राजा ल्याउन लागेको ? भन्छन् हामीलाई,’– उनले भने ।

साथै, उनले संविधानमा रहेको न्याय परिषद्को व्यवस्थाको पनि विरोध गरे । न्याय परिषद्भित्र नेता बसेर राजनीतिक दलको कार्यकर्तालाई न्यायाधीश बनाइएको उनले बताए । सोही कारणले न्यायीक फैसलामा त्रुटी पाइएको उनले बताए । संविधानको धारा १५३ मा रहेको न्याय परिषद् सम्बन्धी व्यवस्था खारेज गरिनुपर्ने उनले बताए ।

‘कुनै पनि अदालतको न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद्ले हो । न्याय परिषद्भित्र नेताहरु बसेका छन् । अनि राजनीतिक दलको कार्यकर्तालाई लगेर न्यायाधीश बनाउँछन् । त्यो कार्यकर्ताले न्याय दिन्छ ? उसले फैसला सबै गलत दिन्छ । यो संविधानको धारा १५३ को कमजोरी हो । यसलाई संशोधन गरौं,’– उनले भने ।

वर्तमान व्यवस्था विदेशीले ल्याएको उनको आरोप छ । नेता शाहीले नेपालको संविधानका केही धाराहरुले देशको भन्दा पनि विदेशीहरुको हित गरेको उनले बताए । ‘म ३१ वर्ष भएँ । यो व्यवस्था आएको ३३ वर्ष भएछ । यो विदेशीहरुले ल्याएको व्यवस्था हो । यो संविधान संशोधन नगरी देश बन्दैबन्दैन । संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता छ । संविधानका केही धाराहरुले देशको हितभन्दा पनि विदेशीको फेबरमा काम गर्छन्,’– नेता शाहीले भने ।

नेता शाहीले नेपालमा राजतन्त्र कानुनी प्रक्रियाबाट नफालिएको दाबी गरे । उनले अहिले पनि राजा कि संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जनमत संग्रहमा जाने आँट गर्न चुनौति दिए । ‘यदि देश बनाउने इच्छा छ र झुठ बोलेको होईन भने जनतामा जाऔं । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं । राजाको कुरा भोलि जनमत संग्रह गरौंला । जनताले माने ठीकै छ । किन भने जनताभन्दा ठूलो कोही छैन । जनमत संग्रहमा जाऔं न त,’– उनले भने ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जाने हो भने वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई जनताले जिताएर नपठाउने उनको दाबी छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी, स्वतन्त्र सांसद र प्रदेश खारेजी अहिलेको तत्कालीन आवश्यक्ता रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्