Logo

शेरबहादुरजी मसँग एकछिन रिसाएपनि कांग्रेस-माओवादी मिल्नुपर्ने आवश्यक्ता र बाध्यता छः प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन कांग्रेस–माओवादी मिल्नुपर्ने आवश्यक्ता र बाध्यता रहेको बताएका छन् । हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन, संविधानको रक्षा र परिमार्जनको निमित्त कांग्रेससँग मिलेर जाने सम्भावना रहेको बताएका हुन् । उनले शान्ति प्रक्रियाका सम्पूर्ण कामहरु अन्तिम निश्कर्षमा नपुर्याउँदासम्म माओवादी र कांग्रेसको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।

‘अहिले शेरबहादुरजी एकछिन मसँग रिसाएपनि त्यो ऐतिहासिक आवश्यक्ता छ । हस्ताक्षर त तत्कालीन कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र मैले गरेको हो । कांग्रेस र माओवादीको काँधमा यो प्रक्रियालाई टुङ्गोमा पुर्याउने, यो संविधानलाई कार्यान्वयन गरिछाड्ने र संविधानलाई परिमार्जन गर्ने ठूलो जिम्मेवारी छ । कांग्रेससँग सहकार्यको सम्भावनामात्रै होईन, आवश्यक्ता पनि छ । कहिलेकाहीँ आवश्यक्तामात्रै होईन, शेरबहादुरजीलाई पनि मलाई पनि बाध्यता पनि छ । त्यसो भएर हामी एकअर्कासँग बढी रिस गर्न हुँदैन,’– प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्