Logo

धनराजकी पूर्वश्रीमती ज्योति गुरूङले संस्थालाई थाहा नदिई सदस्यबाट उठाएकी थिइन् १२ करोड ९४ लाख



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुनमन्त्री धनराज गुरुङकी पूर्व श्रीमतीसमेत रहेकी मितेरीसहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरूङले मितेरी बचत तथा ऋण सहकारीमा लेखांकन नगरी बचतकर्ताहरूबाट १२ करोड ९४ लाख ८९ हजार रुपैयाँ उठाएको खुलासा भएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन अनुसार गुरूङले एक व्यक्तिबाट ६९ लाखसम्म लिएर सो रकम आफूखुसी उठाएको खुलेको छ ।

ज्योतिलाई विश्वास गरेर हर्कराज रोकाले ६९ लाख तीन हजार, कमला गुरुङले ४५ लाख २० हजार, एश बहादुर राईले ४५ लाख २० हजार, चेनमायाँ गुरूङले ४१ लाख सात हजार, दिनेश शर्माले ३२ लाख ५० हजार र जितबहादुर थापाले २८ लाख ७० हजार रुपैयाँ बचतबापतको रकम दिएको समितिको प्रतिवेदनमा उल्लेख छ

यी बचतकर्ताबाट लिएको रकमका बारेमा गुरूङले संस्थालाई जानकारी समेत नदिएको र रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त बचतको हालसम्मको जम्मा रकम समेत गरी १४ करोड ८१ लाख बराबरको रकम सम्बन्धमा आवश्यक छानबिन गरी प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

ज्योति गुरुङ पूर्वकानुनमन्त्री गुरूङकी श्रीमती हुन् । धनराज अहिले विवादमा छन् । यो रकमको संस्थामा लेखांकन नभएको प्रतिवेदनमा उल्लेख छ । भने धनराजको डिर्भोर्स पनि नक्कली भएको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस्