Logo

रोशनी गुरुङको बयानः सागर सरले भनेअनुसार डिपोजिटरमा रवि लामिछानेको नाम लेखिदिएकी हुँ



काठमाडौं, ४ असोज । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन कर्मचारी रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकबाट २ करोड पैसा जम्मा गर्दा उल्लेख गरेको रवि लामिछाने नाम पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हुन वा होईनन् भन्ने कुरा एकिन नभएको बताएकी छन् ।

सहकारी ठगी छानविनका लागि गठित छानविन समितिलाई उनले दिएको बयानमा रोशनीले भनेकी छन्, ‘व्यवस्थापक सागर केसी सरले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आइएई बैंकको खातामा जम्मा गरेर आउन भन्नुभयो । मैले जम्मा गरेको हो । चेक र क्यास के मार्फत जम्मा गरेको थिएँ मलाई याद भएन । ठूलो रकम त चेकमार्फत नै हुन्थ्यो । रकम बैंकमा डिपोजिट गर्दा डिपोजिटरको नाममा रवि लामिछाने लेखिदिनुपर्छ भनेर सागर सरले भन्नुभएको थियो । तर, बैंकका कर्मचारीले डिपोजिटरको नाममा रहेको व्यक्ति कि उपस्थित हुनुपर्छ कि रवि लामिछाने/रोशनी गुरुङ लेख्दा मिल्छ भन्नुभएको थियो । मैले सो विषय सागर सरलाई भनेपछि बैंकले भनेअनुसार रवि लामिछाने/रोशनी गुरुङ लेख्दा हुन्छ भन्नुभयो र सोहीअनुसार गरेको थिएँ ।

साथै, रोशनीले कारबाही हुनुपर्नेहरुमाथि कारबाही नभएको गुनासो पोखेकी छन् । उनले साधारण कर्मचारीलाई धेरै टर्चर दिइएको उनको गुनासो छ । सुप्रिममा काम गरेवापत मासिक २१ हजार तलब पाउने गरेकोमा १ वर्षको तलबसमेत सोही सहकारीमा रहेको उनले बयानको क्रममा बताएकी छन् ।

सहकारी ठगी मुद्दामा गत वैशाखमा जिल्ला अदालत रुपन्देहीको आदेशले २ लाख धरौटीमा छुटेको उनले उल्लेख गरेकी छन् । सहकारीको मुद्दामा एक वर्षको काखेबालक लिएर हिँडिरहन परेको उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्