Logo

भ्रष्टाचारको विरोधमा बोल्दा प्रहरीले हिरासतमा अमानवीय व्यवहार गरेको आजपा नेता साहको आरोप



काठमाडौं, ५ असोज । आम जनता पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज प्रमोद राना साहले आफूमाथि प्रहरी प्रशासनले अमानवीय व्यवहार गरेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भ्रष्टाचार र विकृति, विसंगतिको विरोध गरेको कारण प्रहरीले पक्राउ गरी यातना दिएको र अमानवीय व्यवहार गरेको बताएका हुन् ।

नेता साहले सप्तरी जिल्लामा भ्रष्टाचारको ठूलो नेटवर्क रहेको बताए । भ्रष्टाचारको नेटवर्क जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, जिल्ला प्रहरी र भन्सार कार्यालय र स्थानीय तहसम्म नै रहेको उनको दाबी छ । भ्रष्टाचारका विरुद्ध जनचेतना अभियान चलाउँदा आफूमाथि अमानवीय व्यवहार भएको उनले बताए ।

‘मैले जिल्लाभर जनचेतनाको अभियान चलाएको छ । गत भदौ १८ गतेको दिन हामीले नापी कार्यालयमा लेनदेन सम्बन्धी बुझ्न जाँदा झुठा मुद्दा लगाइयो । प्रहरीले मलाई अमानवीय ढंगले पक्राउ गर्यो । भ्रष्टाचारलाई उजागर गर्दैगर्दा भ्रष्टाचारलाई छोप्ने कुरा भयो,’– उनले भने ।

आफूलाई हिरासतमा लिएर अमानवीय व्यवहार गरेको र उचित स्वास्थ्य उपचारबाट समेत बञ्चित गराइएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्