Logo

मोदीदेखि कुवेतका राजकुमारसम्म अमेरिकामा रहँदा ओलीले को-कोसँग गर्दैछन् भेटवार्ता ?



काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिवार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओलीले आज भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार साँझका लागि भेटवार्ता तय भएको हो।

उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।

ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएपछि मोदीसँग पहिलोपटक भेटवार्ता हुन लागेको हो । यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो। ओली र मोदीबीच सुमधुर सम्बन्ध नरहेको हल्लाकाबीच हुन लागेको यस भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

त्यसोत अमेरिकामा रहँदा ओलीले मोदीका अतिरिक्त अन्य व्यक्तिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले मोदीसँगको भेटवार्ताअघि भुटानी समकक्षी छिरिङ तोब्गेबीच पनि भेटघाट तय भएको छ। परराष्ट्रमन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार भुटानका प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीले २० मिनेट छलफल गर्नेछन्। त्यसलगत्तै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गर्नेछन्। उक्त भेटको समय आधा घन्टा निर्धारण गरिएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमाका प्रधानमन्त्री फियम नाओटी माटा आफासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अ‍ोलीले असोज १० मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । ओलीसहितको टोली असोज १४ गते स्वदेश फिर्ता हुनेछ ।



प्रतिक्रिया दिनुहोस्