Logo

ईश्वर पोखरेलको प्रश्नः समितिको प्रतिवेदनले ‘रवि लामिछानेलाई कारबाही गर्नु’ भनेको छ, त्यो क्लिन चिट हुन्छ ?



काठमाडौं, ६ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगी प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सिफारिस गरेका सबैमाथि छानविन भएर कारबाही हुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समितिले कारबाही गर्नुपर्छ भनेर लेखेको सबैलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदीय विशेष समितिले दोषी करार गरेको उनको भनाइ छ । समितिले दोषी ठहर गरेको लामिछानेलाई रास्वपाले क्लिन चिट दियो भनेर प्रचार गर्दै हिँडेको उनले बताए ।

‘प्रतिवेदनमा त्यस्तो प्लेन भाषा लेखेकोलाई क्लिन चिट भनेर कसरी बुझे ? अंग्रेजी जान्ने धेरै मान्छे त्यहाँ भएर हो कि ? त्यसको अर्थ क्लिन चिट हुन्छ कि के हो ? कारबाही गर्नुपर्छ भनेर लेखेको छ अनि त्यो क्लिन चिट हुन्छ ?’ उनले भने ।

सहकारी ठगी छानविनका लागि बनेको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर गृहमन्त्रालयलाई लेखी पठाएको उनले बताए । सहकारी पीडितहरुले न्याय पाउनुपर्ने कुरामा सरकार प्रतिवद्ध रहेको उनले बताए । ‘लोकतन्त्रमा विधि र प्रक्रिया अपनाउनु नै पर्यो । अब समितिको प्रतिवेदन सरकारले प्राप्त गर्यो । प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ । अहिले सहकारी समस्याको छाविन गर्ने बनेको समितिले दिएको प्रतिवेदनलाई सरकारले संवेदनशील भएर तदारुकताको साथ लागू गर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्