Logo

ओली प्रधानमन्त्री भएपछि दुई खर्ब ऋण बढिसक्यो, सरकार र जनताबीचको डोरी खतरामा छ: कांग्रेस नेता खड्का (भिडिओसहित)



काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले जनता र सरकारबीचको डोरी खतरामा रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनतासँगको कनेक्सन टुटेर सरकार चङ्गाजस्तै आकाशमा रहेको बताए । उनले जनतालाई केन्द्रविन्दुमा राखेर काम नगर्ने हो भने वर्तमान सरकार दुई दिनको पाहुना हुने उनको भनाइ छ ।

‘सरकार र जनताबीचको चङ्गाको डोरी खतरामा देखिरहेको छु । जनताको कनेक्सनबाट टुटेर सरकार आकाशमा चङ्गाजस्तो कताकति देखिने, कहाँ गएर झर्ने हो थाहा छैन ।’ उनले भने, ‘जनतालाई ध्यान दिएर लगनशीलताका साथ काम गर्नुभयो भने हो, नभए आफू केन्द्रीत र नेता केन्द्रीत हुन थाल्यो भने दुई दिनको पाहुनाजस्तो हुन्छ ।’

सरकारले सानोतिनो टालटुले कामले भन्दा पनि जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने गरी काम गर्नुपर्ने उनको सुझाव छ । केपी ओली प्रधानमन्त्री बनेको दुई महिनामा दुई खर्ब ऋण बढिसकेको उनको दाबी छ । प्रधानमन्त्री ओलीको कार्याकाल सकिँदा देशको ऋण २८÷२९ खर्ब पुग्ने उनको अनुमान छ ।

‘यो दुई महिनामा दुई खर्ब ऋण बढिसक्यो । झण्डै २६ अर्ब, यो भन्दा अगाडि २४ खर्ब थियो, अहिले २६ खर्ब पुगिसक्यो । अब ओलीजीको कार्यकाल सकिँदा २८/२९ खर्ब पुग्ला । शेरबहादुर देउवाजीको पालमा ३०/३२ खर्ब होला । ऋणदेखि बाहेक केही छैन । ऋण पनि हामी सदुपयोग गर्न सक्दैनौं । पछि आउने जेनेरेशनले कसरी तिर्छन्, ? त्यसको कुनै हिसाबकिताब हुँदैन,’– उनले भने ।

विगतमा नचाहिनेखालका हजारौं योजना बनाएर देशलाई ऋणमा फसाइएको उनले बताए । देश झन–झन भासमा फसेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्