Logo

दाङ पुगेर बालेनविरुद्ध खनिए एमाले महासचिव पोखरेल, अराजकता मच्चाएको आरोप



काठमाडौं, ६ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले समाजमा अराजकता मच्चाएको आरोप लगाएका छन् । दाङको तुलसीपुरमा पार्टी कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंहदरबारमा आगो लगाउँछु भनेर र सडक विभाग अगाडि फोहोर थुपारिदिएर बालेनले आराजकतालाई प्रश्रय दिएको बताएका हुन् ।

‘कामभन्दा हल्ला धेरै गर्ने, स्टन्टबाजी गर्ने र अराजकताका माध्यमबाट चर्चा प्राप्त गर्ने । अराजक नायकको खोजीको रुपमा चर्चा गर्ने गरिएको छ । सिंहदरबार आगो लगाइदिन्छु । यो सन्देशले के सभ्य समाजको निर्माण गर्छ । आफ्नो चित्त बुझेन भने फोहोर ल्याएर सरकारी कार्यालयको गेटमा फाल्ने संस्कृतिले सभ्य समाज निर्माण गर्छ ?’ उनले प्रश्न गरे ।

काठमाडौं महानगर प्रमुख शाहले काम नगरेर स्टन्टबाजीमात्रै गरेको उनको आरोप छ । ‘कुनै पनि व्यक्तिको सफलता उसले प्राप्त गरेको जिम्मेवारीमा हेर्नुपर्छ । स्टन्टबाजीमा होईन । काठमाडौं महानगरले जनताको सेवा कति गर्न सक्यो ? विकास निर्माणमा पुँजीगत खर्च कति गर्न सक्यो ? देशभरीका नगरपालिकाहरुमा काठमाडौं उत्कृष्ट बन्न सक्यो कि सकेन ? हेर्ने त त्यसमा होला नि ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्