Logo

जान्नेलाई छान्ने रास्वपाका नेताहरु लागूऔषध कारोबार, जुवाखाल र सहकारी ठगीमा भेटिन थालेः एमाले महासचिव पोखरेल



काठमाडौं, ६ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नारा दिएर राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु लागूऔषध कारोबार, जुवाखाल र सहकारी ठगीमा भेटिन थालेको टिप्पणी गरेका छन् । आज (आइतबार) दाङमा आयोजित पार्टीका कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाप्रति यस्तो टिप्पणी गरेका हुन् ।

‘स्वतन्त्रताका नेताहरु कहिले लागूऔषध तस्करीमा फेला पर्छन् । कहिले जुवा खालमा फेला पर्छन् । कहिले सहकारी ठगीमा देखा पर्छन्,’– उनले भने ।

पुराना पार्टीले केही गर्न सक्दैनन् र नयाँलाई रोज्नुपर्छ भनेर ‘जान्नेलाई छान्ने’ अभियान चलाएकाहरु नै विभिन्न काण्डमा भेटिन थालेको उनले बताए । रास्वपा असफलताको बाटोतर्फ हिँडिरहेको उनको दाबी छ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदैमा पार्टीमा पनि लोकप्रिय भइन्छ भन्ने कुरामा सत्यता नरहेको उनले बताए ।

‘सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गर्नेवित्तिकै पार्टीमा लोकप्रिय भइन्छ भन्ने होईन रहेछ नि त । मिडियामा सफल हुनेवित्तिकै राजनीतिकमा सफल भइन्छ भन्ने होईन रहेछ नि त । राजनीतिमा जनताको निगरानी हुन्छ, अरु क्षेत्रमा हुँदैन । उनको मान्यता गलत रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ,’– उनले भने ।

एक समय रविन्द्र मिश्रको पछाडि विवेकशील साझा भनेर मानिसहरु डौडिएको र अहिले पनि स्वतन्त्र पार्टीको नामा स्याल हुईँया मच्चाउने काम भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्