Logo

भेन्टिलेशन फोडेर धनुषामा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार, एकजना पक्राउ, बाँकीको खोजी हुँदै



काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति थुनुवा कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा भागेकामा एक जनालाई भने नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

फरार भएकाहरू लागुऔषध तथा अभद्र व्यवहार मुद्दाअन्तर्गत पक्राउ परेका थिए । लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन् ।यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन् । उनीहरूसँगै फरार भएका सत्यम झा भने पक्राउ परेका छन् ।

कैदीहरू फरार भएसँगै प्रहरीले उनीहरूको खोजीलाई तीव्र बनाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हिरासत कक्षमा रहेका १० जनामध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । फरारमध्ये एक जनालाई पक्राउ गरेको छ । थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर फरार भएका र ह्याक्सो ब्लेड उनीहरूको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फरार भएकाहरुलाई कसैलाई देखेमा प्रहरीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्