Logo

ब्याटिङ नचल्दा नेपालको लगातार तेस्रो हार, सन्दीपले तोडे आफ्नै रेकर्ड



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । क्यानडाको किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए ।

दोस्रो विकेटका लागि परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपालका सन्दीप लामिछानेले २, करण केसी, गुलशन झा र ललित राजवंशीले समान १-१ विकेट लिए ।

त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।

सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । सन्दीपले बनाएको यो स्कारे एकदिवसीय क्रिकेटमा उनको हालसम्मको उच्च हो । त्यस्तै गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७।१ ओभरमा ८७-७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४९(४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १-१ विकेट लिए । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो । नेपालले अव अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ ।

नेपाल ७ खेलमा १ मा जितसहित २ अंकका साथ सातौं स्थानमाछ । क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्