Logo

दुर्गा प्रसाईंका समर्थकले झापामा जलाए ३ वटा ट्रक, चालक घाइते, २ जना पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरूले झापामा तीन वटा भारतीय नम्बर प्लेट भएको ट्रकमा आगजनी गरेका छन्।

बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बलले आइतबार नै विज्ञप्ति निकाल्दै आज झापा जिल्ला भर यातायात बन्दको घोषणा गरेका थिए।

सोही समूहले गएराति कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा र आज बिहान बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा तीनवटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका हुन्।

बिर्तामोडबाट सुरुङ्गातर्फ प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेर जाँदै गरेको ट्रकलाई ६ वटा मोटरसाइकलमा आएका युवाले रोकेर आगजनी गरी फरार भएका थिए। बिर्तामोडको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो।

ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको छ। साथै ट्रकका चालक भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो घाइते भएका छन्। दाहिना हातको पाखुरामा जलेर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रसाईँ पक्राउ परेसँगै झापा प्रहरीले आइतबार नै उनका दुईजना समर्थकलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बलका मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्। अभियानले यातायात बन्दको आव्हान गरेपनि झापामा यातायात सुचारु रहेको प्रहरीले जनाएको छ। राजमार्ग तथा मुख्य बजार क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्