Logo

गुरागाइँले सम्हाले काठमाडौं महानगको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी



काठमाडौं । काठमाडौँ महानगरपालिकामा सरुवा भएर पुगेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पदवहाली गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत भाद्र २७ गतेको निर्णय अनुसार उनले आज पदबहाली गरेका हुन् । यसअघि गएको २ वर्षदेखि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुखका रुपमा कार्यरत थिए ।

पदवहालीका क्रममा गुरागाइँले, प्रशासन विभागका प्रमुखको अधिकार प्रत्यायोजन पत्रमा हस्ताक्षर गरेका थिए । यसपछि आयोजना भएको विभागीय प्रमुखहरुको संक्षिप्त परिचयात्मक कार्यक्रममा उनले, प्रशासन विभागका प्रमुख नमराज ढकाललाई अधिकार प्रत्यायोजन गरेर कार्य प्रारम्भ गरे । कार्यक्रममा विभागका प्रमुख ढकालले, निवर्तमान प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन प्रदान गरेका थिए ।

परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले, नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव वृद्धि भएको, प्रतिष्ठा बढेको उल्लेख गरे । अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नु पर्ने बताउँदै उनले, नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सिपले काठमाडौँको उचाइ बढ्दै जाने बताए ।

वार्षिक समीक्षामा उल्लेख गरिएका उपलब्धिहरुलाई संस्थागत गर्ने, देखिएका समस्याहरुलाई सम्बोधन गर्दै लैजाने, निर्णय प्रक्रिया र पत्राचारमा अनलाइन माध्यमको प्रयोगलाई संस्थागत गर्दै लैजाने, उच्च अधिकारीहरुबाट नियमित रुपमा दैनिक प्रतिवेदन गर्ने कार्यलाई संस्थागत गर्दै लैजाने, सेवाग्राही सर्वेक्षणबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्दै लैजाने कामलाई निरन्तरता दिइएको छ ।

गुरागाइँ २०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका थिए । उनी २०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त भएका हुन् ।

उनले तत्कालीन स्थानीय विकास मन्त्रालयमा २४ वर्ष, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २ वर्ष र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० वर्ष गरी ३ दशकभन्दा धेरै समय नेपाल सरकारको सेवा गरेका छन् ।

मन्त्री परिषद्बाट एकै मितिमा भएको निर्णयअनुसार निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन । उनी ४ गते नै विदाइ भएर गइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्