Logo

हारको ह्याट्रिक हानेको नेपाली टिमले आज ओमानसँग भिड्ने, फर्किएला पूरानै लय ?



काठमाडौं । लगातार खराब प्रदर्शन गर्दै तीन खेलमा पराजय व्यहोरेको नेपाली क्रिकेट टिमले आईसीसी एकदिवसीय क्रिकेट लिग-२अन्तर्गत आज ओमानसँग प्रस्सिपर्धा गर्दैछ । पछिल्ला ७ मध्य लगातार ६ खेल हारेको नेपाल आज जित्नैपर्ने दवावमा छ । नेपाल र ओमानबीचको खेल क्यानडाको किङ सिटी क्रिकेट मैदानमा मंगलबार साँझ ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । लगातार हार ब्यहोरेर लय गुमाएको ओमानविरुद्ध मैदान उत्रिँदा जित्नै पर्ने दबाबमा हुनेछ ।

क्यानडा भ्रमणमा रहेको नेपालले विश्वकप लिग-२ मा लगातार तीन खेलमा हार ब्यहोरेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम क्यानडासँग १०३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो । नेपालले विश्वकप लिग-२ मा पछिल्ला सात खेलमध्ये ६ खेलमा हार ब्यहोरेको छ ।

नेपाल लिग-२ को अंक तालिकामा २ अंकका साथ पुछारबाट दोस्रोमा छ । ओमान ६ खेलबाट ५ अंकका साथ छैटौँ स्थानमा छ । ओमानविरुद्धको खेलसँगै विश्वकप लिग-२ को दोस्रो चरणको सिरिज सकिनेछ ।

यो ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्