Logo

दुई दलीय प्रणालीको वकालत गर्दै शंकर पोखरेलले भने: सानातिना पार्टीका दोकान बन्द नगरी समाजवाद आउँदैन



काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य बलियो नभई जनता बलिया हुन नसक्ने बताएका छन् । एमाले दाङ लमही नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनलाई सोमबार देउखुरीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राज्य बलियो हुन राजनीतिक दल बलिया हुनुपर्ने बताएका हुन् । पोखरेल पछिल्ला दिनमा नेपालमा दुई दलीय प्रणालीबारे वकालत गर्ने नेता हुन् ।

‘राजनीतिक दल बलिया हुन तपाईं हामीले आफ्नो पार्टी बलियो बनाउनु पर्दछ । नेपालमा अब सानातिना पार्टी राखेर समाजवाद आउँदैन, समाजवादको यात्रामा लाग्ने हो भने सानातिना दोकान बन्द गर्नुपर्दछ, यसले मात्रै मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माण हुनसक्छ र त्यसको जगमा मात्र समाजवादको आधार तयार हुन्छ भन्ने सच्चाइलाई बुझ्नुपर्दछ’, उनले भने ।

समाज बदल्नका लागि जनताको भावनाको नेतृत्व गर्न सक्नुपर्ने बताउँदै उनले अब सानातिना वामपन्थी पार्टीमा अल्मलिने समय सकिएको स्पष्ट पारे । अब समाजवादको आधार निर्माण गर्न सक्ने एउटा बलियो शक्ति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । पार्टीलाई कमजोर पार्दा के हुँदो रहेछ भन्ने कुरा माधव नेपाल र झलनाथ खनालको स्थिति हेरेर बुझ्नुपर्ने बताउँदै महासचिव पोखरेलले माधव नेपालको पार्टीका नेताहरू अहिले देशको होइन, विदेशको पैरवी गर्न लागेको आरोप लगाए ।

बलियो राज्य र सक्षम नागरिकले मात्र देश जोगाउन सक्ने उनले जिकिर छ । लोकतन्त्रमा जनता अधिकार सम्पन्न हुनुपर्ने बताउँदै महासचिव पोखरेलले अधिकारसँग जनताले कर्तव्यको पनि ख्याल राख्नुपर्ने बताए । कर्तव्य बिनाको अधिकार समस्याको खानी भएको उनको भनाइ छ । समाज बदल्ने कुरा निक्कै महत्वपूर्ण भएको बताउँदै महासचिव पोखरेलले समाज बदल्ने भनेको जनताको जीवनस्तर बदल्ने कुरा भएको र त्यो यात्रा अब सुरु भएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार बनेपछि समाजमा केही आशा पलाएको उनको दाबी छ । महासचिव पोखरेलले भने ‘उद्योगी व्यवसायीहरू आशावादी बनेका छन्, मुलुकको आर्थिक अवस्थामा सुधारका लक्षणहरू देखापर्न थालेका छन्, निरन्तर रूपमा ओरालो लागेको मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढ्ने सङ्केत देखापरेको छ, मुलुकको राजश्वमा वृद्धि हुन लागेको छ’ ।

उनले यस्तो बेलामा सरकारलाई काम गर्न दिनुपर्नेमा सरकारलाई घेराबन्दी गर्ने, काम गर्न नदिने, अराजकता सिर्जना गर्ने प्रवृत्तिहरू देखापरेको बताए । जति बेला मुलुकमा केही काम हुन थाल्छ त्यति बेला त्यस्ता शक्तिहरू जुर्मुराउने गरेको पोखरेलको भनाइ छ । जनतामा बढ्दो निराशा चिर्न र मुलुकको उज्यालो भविष्यको यात्राको लागि दुई ठुला राजनीतिक दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको उनले प्रष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्