Logo

रवि, जीबी र छवि मुछिएको सूर्यदर्शन सहकारीको छानविनमा खटियो सीआईबीको टोली



काठमाडौं, ८ असोज । पोखराको सूर्यदर्शन सहकारीको अनियमितता छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली खटिइएको छ । सीआईबीले आज दुई जना अनुसन्धान अधिकृत पोखरा पठाएको बताइएको छ ।

गोर्खा मिडियाको सञ्चालक रहँदा सूर्यदर्शन सहकारीबाट गएको रकम अपचलन गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् । उनलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी कार्यालय कास्कीमा आजबाट जोशीको बयान सुरु भएको बताइएको छ । कास्की जिल्ला अदालतले जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।

गोरखा मिडियाको सञ्चालकमा जिबी राई, रवि लामिछाने र छविलाल जोशी थिए । रवि र छविले गोर्खा मिडिया छाडेपछि जिबी राई, कुमार रम्तेल र जीबी ग्रुप अफ कम्पनी प्रा.ली. उक्त कम्पनीका शेयर सदस्य थिए ।

कुमार रम्तेल पनि कारागार कार्यालय कास्कीमा थुनामा छन् । जिबी राई फरार छन् भने रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने हल्ला चलिरहेको छ । गत आईतबार साँझ पक्राउ परेका छविलाल जोशीको बयानपछि घटनाले अर्को मोड लिने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्