Logo

प्रचण्डसँग पौंठेजोरी खेल्दा सुदूरपश्चिममा जनार्दनलाई अर्को झड्का, संसदीय दलपछि जिल्ला इन्चार्जमा पनि बढारिए



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा नयाँ इन्चार्ज खटाएको छ । संसदीय दलको नेता परिवर्तनपछि किचलो सामना गरिरहेको माओवादीले त्यसलाई साम्य बनाउनुको साटो उल्टै विवादलाई बल पुग्नेगरी नयाँ इन्चार्ज तोकेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलसँगको परामर्शमा नयाँ इन्चार्ज तोकेको हो । ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज कमरेड गिरिराजमणि पोखरेलसँगको परामर्श र सुझावको आधारमा सुदूरपश्चिम प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्यहरूको जिम्मेवारी निम्नानुसार गरिएको यो पत्र जारी गरिएको छ सोही अनुसार गर्न गराउन हुन निर्देशन गरिन्छ’, अध्यक्ष र महासचिवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङको सर्कुलरअनुसार कञ्चनपुरमा टेकेन्द्र भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डोटीमा त्रिलोचन भट्ट, डडेल्धुरामा कुन्ती शाही र दार्चुला लक्ष्णदत्त जोशीले इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी, अछाममा सरदसिंह भण्डारी, बभाङमा मीनबहादुर कुँवर, बैतडीमा नरेन्द्र कुँवर र बाजुरामा कर्णबहादुर विश्वकर्मालाई इन्चार्ज को जिम्मेवारी दिएको सर्कुलरमा उल्लेख छ ।

यद्यपि, कञ्चनपुरमा इन्चार्ज रहेका भट्ट, बैतडीका कुँवर र बाजुराका विश्वकर्मा भने पहिला पनि तिनै जिल्लामा इन्चार्ज थिए । पहिला कैलालीमा हरि ज्ञवाली, डोटीमा शिवसिंह ओली, अछाममा झपट साउद, डडेल्धुरामा जगत पार्की, बझाङमा देवराज रेग्मी र दार्चुलामा लक्ष्मी विकले इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

नयाँ जिम्मेवारी पाउनेमा यसपटक उपमहासचिव वर्षमान पुनपक्षका नेताहरुको बाहुल्यता रहेको देखिन्छ । अर्का उपमहासचिव जनार्दन शर्माको प्रभाव क्षेत्र मानिने सुदूरमा यसपटक उनलाई पन्छाएर पुन निकटले पकड जमाएका हुन् । नयाँ इन्चार्ज तोकिएका ९ मध्ये ५ जिल्ला डोटी, अछाम बाजुरा, दार्चुला र डडेल्धुरामा पुन निकट र २ जिल्ला कञ्चनपुर र बैतडीमा शर्मानिकट नेताले जिम्मेवारी पाएका छन् । त्यसबाहेकका दुई जिल्लामा भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङनिकट एक÷एक जनाले जिम्मेवारी पाएका छन् ।

झनै अप्ठ्यारोमा जनार्दन

त्यसोत, पार्टीका प्रभावशाली नेता मानिने शर्मा पछिल्ला दिनमा किनारामा पर्दै गएका छन । पार्टीको बैठकमा अध्यक्ष प्रचण्डविरुद्ध आफ्नो छुट्टै प्रस्ताव ल्याउनेदेखि निर्णयमा नोट अफ डिसिन्ट लेख्दै आएका शर्मा र प्रचण्डबीचको सम्बन्धमा समेत दरारता आएको लामो समय भईसकेको छ ।

माओवादी केन्द्रदेखि सातै प्रदेशमा सत्ताच्यूत बनेपछि प्रचण्डले पार्टीको नेतृत्व छाडुनुपर्ने शर्माको प्रस्ताव थियो । सो प्रस्तावपछि माओवादीमा निक्कै हल्लाखल्ला मच्चिएको थियो । जनार्दनले पार्टी फुटाउन लागेको देखि आफ्नै पार्टीको सरकार हुँदा सहयोग नगरेकोसम्म आरोप लागेपछि केही समय उनी प्रतिरक्षमा नै उत्रिएका थिए ।

यसअघि पनि शर्माको गृह प्रदेश कर्णालीमा शर्मा निकट रहेका राजकुमार शर्मालाई मुख्यमन्त्रीबाट हटाएर एमालेलाई मुख्यमन्त्री दिईएको थियो भने सुदूरपश्चिमको संसदीय दलबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता बनाइएकोथियो । धामी उपमहासचिव पुन र भट्ट जनार्दन निकट मानिन्छन् ।

सुदूरको संसदीय दलको नेता परिवर्तनको विवाद हालसम्म पनि कायमै छ । भट्टलाई पुन: दलको नेता बनाउन केन्द्रले निर्देशन दिएपनि कार्यान्वयन भएको छैन् । आफू दलको नेता नबनेसम्म प्रदेशसभामा नजाने अडानमा रहेका भट्ट र उनी पक्षका सांसदहरु आकाल-झुक्कल बाहेक प्रदेशसभामा समेत जान छाडेका छन् । जसले गर्दा सुदूरपश्चिम प्रदेश प्रतिपक्षीविहीन बनेको समेत टिप्पणी हुने गरेको छ । यी सबै घटनाले प्रचण्डविरुद्ध पौंठेजोरी खेलेका शर्मा कालान्तरमा किनारामा पर्दै गएकोचर्चा हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्