Logo

सांस्कृतिक मञ्च नेपालद्वारा रैथाने लोकनाच प्रदर्शनी आयोजना



काठमाडौं, ९ असोज । सांस्कृतिक मञ्च नेपालले मौलिक संस्कृति झल्काउने रैथाने लोकनाच प्रदर्शनीको आयोजना गरेको छ । आज (बुधबार) परिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो । यही असोज ११ गते अपरान्ह २ बजे जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा देशभरका सातै प्रदेशबाट लोपोन्मुख स्थानीय मौलिक संस्कृतिको प्रदर्शनी रहने बताइएको छ ।

सांस्कृतिक मञ्च नेपालका नन्द देवकोटाले पछिल्लो पुस्ताका लागि संस्कृतिको संरक्षण गरिराख्न कार्यक्रमको आयोजना गरिएको बताए । सबैले आ–आफ्नो ठाउँबाट संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने सोचले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘काठमाडौंले अहिलेसम्म नदेखेका, लोप हुन थालेका नाचहरु हामीले यहाँसम्म ल्याउने जमर्को गरेका छौं । पूर्व भोजपुरदेखि पश्चिम दार्चुलासम्मका यहाँ त्यो दिन प्रस्तुति हुनेछ,’– उनले भने ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गर्ने बताइएको छ । त्यस्तै, बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक पनि आउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्