Logo

व्यवस्थापन पक्षलाई जोगाउने गरी सौर्य एयरलाईन्स दुर्घटनाको सुनियोजित प्रतिवेदन ल्याइएको पीडित परिवारको आरोप



काठमाडौं, ९ असोज । सौर्य एयरलाईन्स जहाज दुर्घटनाका पीडित प्रकाश खतिवडाले आफूहरुले न्याय नपाएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले विमान दुर्घटना भएको ६० दिन वितिसक्दा पनि एयरलाईन्सको तर्फबाट कुनै पनि मानवीय संवेदना व्यक्त नगरेको बताएका हुन् ।

‘आज ६० दिन भयो । सौर्य एयरलाईन्सले एक दिनपनि तपाईँको परिवार दुर्घटनामा पर्यो । तपाईँहरुप्रति सहानुभूति छ भन्न आएको छैन । अब अहिले मैले सुन्दैछु– विभिन्न चलखेल गरेर उडान स्थगन गरिएको त्यो जहाजलाई पुनः सुचारु गर्नका लागि आर्थिक चलखेल गरिरहेको पनि मैले सुनेको छ । केही प्रमाण मसँग छ,’– उनले भने ।

साथै, सो दुर्घटनाको सन्दर्भमा बनेको छानविन समितिको प्रतिवेदन पनि सुनियोजित रहेको उनले दाबी गरे । उक्त प्रतिवेदन सौर्य एयरलाइन्सका व्यवस्थापकहरुलाई उन्मुक्ति दिनेगरी ल्याइएको उनको आरोप छ ।

‘त्यो प्रतिवेदन सुनियोजित छ । त्यो प्रतिवेदन सौर्य एयरलाइन्सका व्यवस्थापन पक्षलाई उन्मुक्ति दिनका लागि तयार पारिएको प्रतिवेदन छ । त्यस कारणले अब यो विषयमा चुप लागेर बस्न हुँदैन भन्ने हामीलाई लागेको छ,’– उनले भने ।

उनले प्रतिवेदनमा घटनाको प्रमुख कारण तौल र गतिको असन्तुलन उल्लेख गरेको बताउँदै उनले वजन र गतिको सन्तुलनलाई मुख्य कारण बनाएर व्यवस्थापन पक्षलाई जोगाउनुमा प्रतिवेदन केन्द्रीत रहेको बताए ।

उनले उक्त दुर्घटनामा आफ्नो गोठ नै रित्तिएको सुनाए । सो दुर्घटनामा उनकी छोरी प्रिजा खतिवडा, ज्वाईँ मनुराम शर्मा र नाती अधिराज शर्माको निधन भएको थियो ।

‘मेरो गोठ रित्तिएको छ । मेरो छोरी, ज्वाईँ, नाती मैले निमेशभरमा गुमाउनुपरेको छ । म यस्तो पात्र हुँ जसलाई मैले आफूलाई पहिलो अपराधी ठानेको छु । मैले आफैंले स्कुटरमा चढाएर एयरपोर्टमा पुर्याएको ५ मिनेट पनि नबित्दै मसँग मेरा सन्ततीहरु रहेनन्,’– उनले भने ।

आफ्ना सन्तानहरुको सम्झनालाई चीरस्थायी बनाउन मनुराजा शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको नामको अगाडिको पहिलो अक्षरबाट ‘एमएपी मेमोरियल सोसाइटी’ संस्था दर्ता गरेको पनि उनले बताए ।

उक्त संस्थामा अक्षयकोषको स्थापना गरी पुरस्कारसमेतको व्यवस्था गरिने उनले बताए । साथै, नाती अधिराजलाई पढाउन नपाएको बताउँदै उनले अधिराजको नामबाट आफ्नो नगरभरीका ५० जना बालबालिकालाई निःशुल्क पढाउने योजना रहेको पनि उनले बताए ।

‘यसको एउटा अक्षय कोष स्थापना गर्ने मेरो योजना छ । मेरो ज्वाईँ आइटी इन्जिनियर हुनुहुन्थ्यो । उहाँको नाममा एउटा पुरस्कार स्थापना गरिने छ । सो पुरस्कारले वर्ष दिनभरी राष्ट्रको नाममा योगदान गर्ने व्यक्तित्वलाई पुरस्कृत गरिने छ । मेरी छोरी उर्जा मन्त्रालयमा कार्यरत थिईन् । उनको नाममा पुरस्कार स्थापना गरेर वर्षभरी काम गर्ने निजामती महिला कर्मचारीलाई पुरस्कृति गरिने छ । मैले मेरो नाती पढाउन पाईन् । त्यसैले कमसेकम मैले मेरो पालिकाभित्र ५० जना बालबालिकालाई निःशुल्क पढाउने योजना छ,’– उनले भने ।

गत साउन ९ गते विहान भएको उक्त दुर्घटनामा १८ जनाको निधन भएको थियो । सो दुर्घटनामा पाइलट मनिषरत्न शाक्यको भने जिवित उद्दार गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्