Logo

सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन विज्ञहरुको जोड



विराटनगर। सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन विज्ञहरुको जोड दिएका छन्। स्वास्थ्य लाइभ मिडियाद्वारा विराटनगरमा आयोजित सुरक्षित गर्भपतनको लागि जवाफदेहीता विषायक मिडिया सचेतना कार्यक्रममा बोल्दै विज्ञहरुले सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन जोड दिएका छन्।

कोशी प्रदेशकी स्वास्थ्य सचिव डा.राधिका थपलियाले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताइन्। सुरक्षित गर्भपतन र जथाभावी औषधि दुरुपयोग रोक्न प्रदेश सरकारले विशेष भूमिका खेल्ने उनको धारणा छ। यसमा पत्रकारको पनि उत्तिकै साथ र सहयोग चाहिने सचिव थपलियाको भनाइ छ।

कोशी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले सुरक्षित गर्भपतनका लागि मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताए। असुरक्षित गर्भपतन रोक्न स्वास्थ्य निर्देशनालयले विशेष जोड दिएको सुनाउँदै यसका लागि मिडियाको विशेष सहयोग चाहिने बनाए।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले सुरक्षित गर्भपतनमा जोड दिँदै सुरक्षित गर्भपतन गराउनु कुनै अपराध नभएको बताए। सुरक्षित गर्भपतन सेवा महिलाहरूको अन्य प्रजनन स्वास्थ्य समस्या वा बाध्यताको समाधान भएको साहको भनाइ छ।

महिलाले आत्मसम्मानपूर्वक गुणस्तरीय, सर्वसुलव तथा पहुँचयोग्य सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न सक्ने वातावरणको निर्माण गर्नुपर्ने डा। साहको धारणा छ। यसका लागि मिडियाको महत्त्वपूर्ण भूमिका रहने उनको तर्क छ।

गर्भपतन गर्नेमध्ये अधिकांश (५८ प्रतिशत) महिलाले असुरक्षित गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गर्दै डा.साहले गर्भपतन सम्बन्धी सामाजिक लाञ्छना र भेदभाव कायम रहँदा यसमा चुनौती थपिएको बताए।

सुरक्षित गर्भपतन सेवा सीमित स्वास्थ्य संस्थामा मात्र उपलब्ध भएको तथा सूचीकृत संस्थामा पनि सेवा नियमित नहुँदा सुरक्षित गर्भपतनमा चुनौती देखिएको उनको भनाइ छ। डा.साहका अनुसार सुरक्षित गर्भपतन सेवा स्वास्थ्यको प्राथमिकतामा नपर्नु पनि अर्को चुनौती हो। गर्भपतनका औषधी जथाभावी सेवनले स्वास्थ्यमा जटिल समस्या आउन सक्ने उनले जनाए।

नीति योजना तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले सुरक्षित गर्भपतनमा सबैले जोड दिनुपर्ने बताए। सुरक्षित गर्भपतनका लागि सञ्चार माध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ। असुरक्षित गर्भपतन बढ्न नदिन सरोकारवाला निकायले ध्यान दिनुपर्ने डा। मेहताको धारण छ। लिङ्ग पहिचान गरेर गर्भपतन गराउन समस्या आउने भन्दै साहले त्यस्तो प्रवृत्ति रोकिनु पर्ने बताए।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवले सूचीकृत संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनु पर्नेमा जोड दिए। विराटनगरको रानी अस्पताल गर्भपतनका लागि सूचीकृत र सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था भएपनि जनशक्ति र उपकरण अभावले सेवा रोकिएको बताए।

स्पष्ट कानुन र संरचना नहुँदा गर्भपतन सेवालाई विस्तार गर्न नसकिएको यादवले सुनाए। हेरिटेज अस्पाताल प्रा.लि. र मेरिस्टोप्सले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन निवेदन दिएपछि कानुनी स्पष्टता नहुँदा महानगरपालिकाले कुनै प्रक्रिया अगाडि बढाउन नसकेको उनको भनाइ छ। औषधिहरु जथाभावी विक्रीवितरण हुँदा पनि सुरक्षित गर्भपतनमा चुनौती थपिएको भन्दै यादवले त्यसलाई रोक्न मिडियाको पनि साथ चाहिने बताए।



प्रतिक्रिया दिनुहोस्