Logo

कांग्रेस नेताको दाबीः छविले जिबीलाई फसाउने पनि रवि हुन् भनेर बयान दिइसके (भिडिओसहित)



काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता प्रकाश रसाइलीले प्रहरी हिरासतमा रहेका छविलाल जोशीले जीबी राईलाई फसाउने पनि रवि लामिछाने नै हुन् भनेर बयान दिएको दाबी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले छविलालले ‘हामी यो क्षेत्रका विज्ञ होईनौं, रवि लामिछाने नै हो’ भनेको दाबी गरेका हुन् ।

‘उहाँ (छविलाल जोशी) ले पनि आफ्नो बयान दिने क्रममा डिजाइन बनाउने हामी यो क्षेत्रका विज्ञ नै होईनौं । रवि लामिछाने विज्ञ हो । हामी अन्य पेश व्यवसायबाट आएका मान्छेहरुलाई पनि ऋण लिने र यसरी चलाउन सकिन्छ, पैसा कमाउन सकिन्छ, यति फाइदा हुन्छ भनेर आफ्नो तलब आफैंले तोकेर जिबी राईलाई समेत फसाउने रवि नै हो भनेर भनिसक्नु भएको छ,’– उनले भने ।

प्रतिवेदनले रवि लामिछानेलाई दोषी करार गरेको उनको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले रवि लामिछानेले क्लिन चिट पाएको भनी दाबी गरिरहेको बताउँदै उनले अपराधीले जहिले पनि अपराध गरेको होईन भनेर नै दाबी लिने बताए । ‘यहाँ ज्यान मारेको मान्छेले पनि मैले ज्यान मारेको हो भनेर अदालतमा अथवा बाहिर गएर भन्दैन । सबै अपराधीहरुले मैले अपराध गरेको होईन भनेर भन्छ । जसले पनि आफू बच्ने उपाय गर्छ,’– उनले भने ।

प्रमाण र तथ्यले सहकारी ठगीमा लामिछाने दोषी हुन् भन्ने कुरा पुष्टि गरेको उनले बताए । सहकारीका अरु ठगहरुलाई पनि सरकार कारबाहीमा ल्याउन पर्ने उनले बताए । कारबाही गर्न नसके सरकारको औचित्य नै समाप्त हुने बताए ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा गइसकेको छ । सोही प्रतिवेदनका आधारमा जोशीलाई प्रहरीले पक्राउ गरेको हो । जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक हुन् ।



प्रतिक्रिया दिनुहोस्