Logo

पदाधिकारी चयनका लागि चुनाव गराएर माधव नेपालले गलत गर्नुभयोः झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, ११ असोज । नेकपा (एकीकृत समाजवादी) क सम्मानित नेता झलनाथ खनालले पार्टी पदाधिकारी चयनका क्रममा चुनाव गराउनु गलत भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र केन्द्रीय सदस्य चयन भइसकेको खण्डमा पदाधिकारी चयनका लागि चुनाव गराएर माधव नेपालले गलत गरेको बताएका हुन् ।

‘चुनाव गराउनु सबैभन्दा गलत हो । सबै कालखण्डमा चुनाव गलत भन्दिनँ म । तर, अहिलेको अवस्थामा महाधिवेशनले दिएको म्याण्डेट नै सहमतिको साथ जाने थियो । यो कुरालाई पदाधिकारी चयन गर्दा पनि लागू गर्नुपर्थ्यो । पोलिटव्यूरोको मेम्बर बनाउँदा पनि लागू गर्नुपर्थ्यो । अहिले जे गरियो, केही दिनपछि यिनै कुराहरुलाई हामी सच्याउँदै हिँडेका हुन्छौं । सच्याउनै पर्छ,’– उनले भने ।

साथै, पार्टी उपाध्यक्षमा हार ब्यहोरेकी रामकुमारी झाँक्रीलाई महत्वपूर्ण जिम्मेवारी दिइने उनले बताए । ‘उहाँले के काम गर्न चाहनुहुन्छ । उहाँले म यो काम गर्छु, कमरेडहरु मलाई यो जिम्मेवारी दिनुस् भन्नुभयो भने त्यो ढङ्गले नदिने कुरा हुन्छ र ?’ प्रश्न गर्दै उनले भने ।

साथै, फरक प्रसंगलमा उनले नेपालमा वामपन्थी एकता आजको आवश्यक्ताको रुपमा रहेको बताए । यति हुँदाहुँदै पनि नेकपा (एमाले) को नेतृत्व बाङ्गो बाटोमा हिँडेको उनको टिप्पणी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्