Logo

आगामी निर्वाचनमा एमालेको शर्मनाक हार हुन्छः झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, ११ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई शर्मनाक हार चखाउने चेतावनी दिएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टुँडिखेल आयोजित गौरा पर्वको कार्यक्रमले नै आगामी निर्वाचनमा एमालेको शर्मनाक हारको संकेत गरेको बताएका हुन् । हाल अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राना देउवा सुरक्षा थ्रेटको कारण देखाउँदै नेपालीले आयोजना गरेको कार्यक्रममा नजानु पनि लज्जास्पद रहेको उनले बताए ।

‘अर्को पटकको चुनावमा शर्मनाक हार नहोस् । एमालेले बहुमतको सरकार बनाउने लक्षण मैले दुई ठाउँमा देखेँ । एउटा अस्ति टुँडिखेलमा भएको देउडा (गौरा) पर्व । भीम रावलले भाषण गर्नुभो, ती युवाहरुले ताली का ताली दिए । देशको प्रधानमन्त्री कमरेड केपी ओलीले भाषण गर्नुभो । हुडिङका हुटिङ, ‘केपी चोर, देश छोड’ हेर्नुस् त नारा पनि कस्तो छ । त्यसपछि पूर्व प्रधानमन्त्री देउवाले भाषण गर्नुभो । हेनुस् त माहोल कस्तो छ । त्यहाँबाट पनि मैले राम्रो बहुमत आउने सम्भावना देखेँ केपी ओलीको ।’ उनले भने, ‘अहिले न्यूयोर्कमा हुनुहुन्छ । न्यूयोर्कमा नेपालीहरुले कार्यक्रमको भव्य आयोजना गरेछन् । बोलाएछन्, हाम्रो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई । तर, जान सक्नुभएन, सेक्यूरिटीका कारणले । अमेरिकाजस्तो विश्वको महाशक्तिले हामी तपाईँलाई सेक्यूरिटी दिन सक्दैनौं भन्यो । यहाँ भन्दा ठूलो बेइजती के हुन्छ । त्यस्तो नेताले दुई तिहाई बहुमत ल्याउँछौं भन्न मिल्छ ?’

साथै, संविधान संशोधनमार्फत दुई पार्टी सिस्टम बनाएर देखाउन उनले एमाले–कांग्रेसलाई चूनौति दिए । दुई पार्टी सिस्टम अधिनाकवाद रहेको उनले बताए । अहिले दुई ठूला दलले सरकार बनाउनु घातक रहेको उनले बताए । नेता खनालले दुई ठूला दल मिलेर सरकार बनाएकै कारण आगामी निर्वाचनमा अरु पनि नयाँ दल उदाउने र कसैको पनि बहुमत नआउने बताए ।



प्रतिक्रिया दिनुहोस्