Logo

मोदी, बाइडेन र कुवेतका राजकुमारदेखि एण्टोनियो गुटरेससम्म न्युयोर्कमा प्रधानमन्त्री ओलीले को-कोसँग गरे भेट ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्युयोर्क पुगेसँगै महासभामा भाग लिन आएका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र शीर्ष नेताहरूसँगको भेटवार्तामा व्यस्त छन् ।

प्रधानमन्त्री ओलीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री वाङ यी, पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ,संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेज लगायतका शीर्ष नेताहरूको भेटवार्ता भएको छ ।

यस क्रममा बिहीबार चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गरेका थिए ।

नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताएका छन् । विदेशमन्त्री वाङ चीनको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिँदै छन् । न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।

यस्तै, प्रधानमन्त्री ओली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता भएको थियो । भेटपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको बताएका थिए । भेटमा सहभागी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नै नेपालको भ्रमण गर्ने जानकारी दिएकी छन् । दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका साथमा मन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए ।

यसैगरी, प्रधानमन्त्री ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा दुई प्रधानमन्त्रीबीच नेपाल र भूटानबीच जनस्तर र व्यापारिक स्तरमा सम्बन्ध विकासका लागि छलफल भएको थियो । भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।

भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँग आत्मीय सम्बन्ध रहेको उल्लेख गरेका थिए । उनले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताएका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोन, फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टब, सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच सोमबार भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच स्थानीय समय अनुसार शनिबार साँझ भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीसँग संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरेका छन् । उच्चायुक्त टर्कले राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेट गरेकाहुन् । भेटमा मानव अधिकार उच्चायुक्त टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गरेका छन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त टर्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने बताएका थिए । यस्तै टर्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गरेका थिए । प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्व दिनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआइडी) का प्रमुख सामन्थ पावर, संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उपकार्यकारी प्रमुख निशा विस्वालले पनि छुट्टाछुट्टै भेट गरेका छन् ।

ओलीले बिहीबार राती अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीसँगै र प्रथम महिला राधिका शाक्य पनि सहभागी थिइन् । प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्