Logo

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, विहान ३ बजेदेखि लाइन (फोटोफिचर)



काठमाडौं, १२ असोज । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला गर्ने निर्णय गरेको थियो । दशैं मनाउनका लागि राजधानीबाट देशका विभिन्न ठाउँमा फर्किनेहरुले अविरल वर्षको बीचमा पनि लाइन बसेर टिकट लिएका छन् ।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षा भइरहेपनि दशैं मनाउन घर फर्किनेहरु विहान सबेरै नयाँ बसपार्क पुगेर टिकट लिन लाइनमा बसेका थिए ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताए ।

उनले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको बताए । उनले आज पनि राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्ने परिस्थिति नहरेको उल्लेख गरे ।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्