Logo

अविरल वर्षा अपडेटः देशभर ५० जना भन्दा बढीको मृत्यु



काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार देशभर एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।



प्रतिक्रिया दिनुहोस्