Logo

बाढी पहिरोको कहर: रामेछापसँग पूर्णरूपमा टुट्यो यातायातको सम्पर्क



काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षात्का कारण रामेछाप यातयातको पहुँचसँग पूर्णरुपमा विच्छेदमा परेको छ । निरन्तरको वर्षात्का कारण गएको पहिरोले रामेछाप जोड्ने दुवै तर्फका राजमार्ग बन्द भएसँगै यातायातसँग जिल्लाको सम्पर्क टुटेको हो ।

राजधानी काठमाडौंबाट रामेछाप जोड्न मूख्यतया दुईवटा राजमार्ग प्रयोग हुन्छ । बनेपा धुलिखेल हुँदै खुर्कोटबाट मन्थली जाने वीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको २ दिन भएको छ । सुनकोसी नदीमै नेपालथोक तथा सित्खामा समेत पक्की पुल छन् । त्यसमध्ये खुर्कोट र नेपालथोकको पुल सुनकोसीले बगाएको छ भने सित्खाको पुलमा पनि क्षति पुगेको छ । त्यसो हुँदा बीपी राजमार्ग हुँदै रामेछापसँगको सम्पर्क पूर्णरूपमा टुटेको छ ।

त्यस्तै वीपी राजमार्ग बाहेक रामेछाप जाने अरनिको राजमार्ग पनि ठाउँ-ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको छ । यो सडकखण्डमा किर्नेटार तथा मिल्तीखोलामा पहिरोले सडक अवरुद्ध गरेको छ। तर, राजधानी काठमाडौं जोड्ने अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको छ ।

यता सिन्धुलीको मूलकोट, नेपालथोक र खुर्कोट क्षेत्रमा पर्ने वीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । सिन्धुलीको गोलन्जोर र सुनकोशी गाउँपालिका तथा काभ्रेको रोशी गाउँपालिकामा बाढीले विधंश मच्चाउँदा सोही मार्ग भएर राजधानी आवतजावत गर्ने हजारौ यात्रु अलपत्र बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्