Logo

सर्वदलीय बैठकः बाढी-पहिरो प्रभावितलाई उचित वासस्थान, खाद्यन्नसहित राहत सामग्री उपलब्ध गराउने निर्णय



काठमाडौं, १३ असोज । सरकारले अविरल वर्षामा प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । आज (आइतबार) कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, वर्षाका कारण गएको बाढी र पहिरोले आवगमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी फसेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउन सम्बन्धित जिल्ला व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ, सम्बन्धित प्रदेश विपद व्यवस्थापन समिति र सरक्षाकर्मीसहितको संयुक्त पहल गरिने निर्णय पनि भएको छ ।

सर्वदलीय बैठकले देशको राजधानी काठमाडौंलाई जोड्ने सबैजसो राजमार्गहरुमा सानो–ठूलो रोकावट भई आवागमन अवरुद्ध हुन भएको अवस्थालाई तत्काल समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सम्पूर्ण संयन्त्र प्रयोग गरी पहिरो पन्छाइ बाटो खुलाउन र आवागमन सूचारु गर्न भनिएको छ ।

त्यस्तै, क्षतिग्रस्त प्रसारण लाइन र विद्युत गृहहरुको मर्मत संहार गरी आपूर्तिलाई सहज बनाउन उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयलाई भनिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवरुद्ध इन्टर नेट र टेलिफोन सेवा यथासके छिटो सुचारु गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता एवं मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत संहार गर्न खानेपानी मन्त्रालयलाई भनिएको छ । बाढीका कारण सिर्जित विषम परिस्थितिमा जनस्वास्थ्यबारे पनि सर्वदलीय बैठकले निर्णय गरेको छ ।

विपदपछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुवै विधिको प्रयोग गरी प्रभावित क्षेत्रमा औषधि, उपचार, उपकर र आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

त्यस्तै, आउँदै गरेको दशैं, तिहार, छठजस्ता पर्वहरुलाई लक्षित गरी खाद्यन्न, तरकारी, फलफूल, ग्यासलगायतका अत्यावश्यक दैनिक उपभोग्य सामानहरु सुपथ मूल्यमा सजिलै प्राप्त गर्न सकिने व्यवस्था मिलाउने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ । यसका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्रसमेतको सहभागितामा काम हुने मन्त्री गुरुङले बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्