Logo

नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता



काठमाडौं, १४ असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले आज (सोमबार) घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएको हो । गत २०८० असोज १ गते संशोधन भएको न्याय परिषद् नियमावलीको विरोधमा बारले आन्दोलन गर्दै आएको छ । संशोधित नियमावली गैर संवैधानिक रहेको बारको जिकिर छ । बारले विगत १ वर्षदेखि उक्त संशोधित नियमावली खारेजीको माग गर्दै आएको थियो ।

उक्त नियमावली खारेज नगरी न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि नबढाउन बारले दवाब दिइरहेको थियो । बारको आन्दोलनलाई बेवास्ता गर्दै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न बैठक बसेपछि कानुन व्यवसायीहरुले न्याय परिषद् घेराउ गरे । न्याय परिषद् घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद् र न्यायलय भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए ।

‘भ्रष्टाचारको दल–दलमा न्यायलय फसेको छ । भ्रष्टाचारको दलदलमा न्याय परिषद् फसेको छ । यसरी भ्रष्टाचारको दलदलमा फसेर जबरजस्ती न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया न्याय परिषद्ले अपनाएको छ । हामी उहाँहरुलाई चुनौति दिन चाहन्छौं– सक्नुहुन्छ हामीलाई जेलमा कोच्नुहोस् । होईन भने हामी भ्रष्टाचार गर्न दिँदैनौं । पवित्र न्यायलयमा बसेर भ्रष्टाचार गरेर न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । हामी यो विषयको खण्डण गर्न चाहन्छौं,’–उनले भनेका थिए ।

उनको सोही अभिव्यक्तिलाई लिएर सर्वोच्च प्रशासनले अध्यक्ष घिमिरेलाई अदालतको अवहेलना मुद्दा दर्ता गरेको हो । बारका अध्यक्ष घिमिरेले भने आफू उक्त मुद्दा फेश गर्न तयार रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्