Logo

शुभकामना आदान-प्रदान कार्यक्रम स्थगित गरेर बाढी पहिरो पीडितहरुको सहयोगमा जुट्यो ललितपुर बार



काठमाडौं, १४ असोज । ललितपुर बार एशोसिएशनले बडादशैं, दिपावली र छठ पर्वको अवसरमा वार्षिक रुपमा आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । अविरल वर्षका कारण देशमा विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ललितपुर बारले शुभकामना आदान–प्रधान कार्यक्रम स्थगित गरेर सो रकम पीडितहरुको लागि सहयोग गर्ने निर्णय गरेको हो ।

‘यस वर्षको शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने र उक्त कार्यक्रममा खर्च हुने रकम बाढी पहिरो पीडितहरुलाई सहयोग उपलब्ध गराउने निर्णय भएको हुँदा सम्पूर्ण वरिष्ठ अधिवक्ता, अधिवक्ता र अभिवक्ताज्यूहरु लगायत सम्बन्धित सबैमा यो जानकारी गराउँदछौं,’– ललितपुर बार एशोसिएशनका सचिव छोनम मोक्तानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, सहयोग गर्न चाहने कानुन व्यवसायीहरुलाई ललितपुर बारमा सम्पर्क गरी रकम संकलन गरी सहयोग गरिदिन पनि आग्रह गरिएको छ ।सचिव मोक्तानका अनुसार आजको बैठकले ललितपुर बारको तर्फबाट बाढी पहिरो पीडितहरुलाई ५० हजार सहयोग गर्ने निर्णय भएको छ । ललितपुर बारका पदाधिकारी र आवद्ध कानुन व्यवसायीहरुबाट पनि थप सहयोग संकलन हुने उनले बताए । सचिव मोक्तानले यस्ता प्रकारका प्राकृतिक विपत्तिमा ललितपुर बारले निरन्तर सहयोग गर्दै आएको पनि बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्