Logo

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी: श्रीमतीसँगका झगडियादेखि कांग्रेसप्रति बफादार बनेर हत्या अभियुक्तलाई छाडेकोसम्म



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ विषेश समितिले दिएको १० दिननको समयमा विभिन्न ६ वटा उजुरी परेका हुन् ।

राउतविरुद्ध परेको उजुरीमा श्रीमतीसँगको सम्बन्धदेखि राजनीतिक दलको पक्षधरता लिएकोसम्म रहेका छन् । राउत न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। नेपाली कांग्रेसको कोटाबाट सर्वोच्चमा न्यायाधीश नियुक्त भएका राउतले मुद्दाको छिनोफानो गर्दा पार्टीको पक्षधरता लिएको भन्दै समितिमा उजुरी परेको छ ।

०७९ सालको प्रतिनिधि सभा निर्वाचनको दिन बाजुरामा कांग्रेसका कार्यकताको आक्रमनबाट ज्यान गुमाएका चेतन अयडीको मुद्दामा जिल्ला र उच्च अदालतको आदेश उल्ट्याउँदै राउतसहित कांग्रेसकी पृष्ठभूमिका अर्का न्यायाधीश अब्दुर अजीम मुसलमानको इजालसले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । सो आदेशमा चित्त नबुझेको भन्दै चेतनका बुबा गगनसिंह अयडीले समितिमा उजुरी दिएका हुन् । उनले उजुरीमा राउत प्रधानन्यायाधीश भए न्यायालयको शाख झनै गिर्ने जिकिर गरेका छन्

‘घटनामा संलग्न रहेकाहरूले नै एकले अर्काविरूद्ध बयान दिएको भए पनि कांग्रेस पृष्ठभूमि भएका न्यायाधीशहरू प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानले पार्टीका वकिल र कार्यकर्ताको भनाइबाट उद्देलित भएर धरौटी समेत नमागी साधारण तारेखमा छाड्ने आदेश गरेका कारण गाउँघरमा बस्न नसक्ने अवस्था भयो’ उजुरीमा गगनसिंहले भनेका छन् ‘न्यायाधीशसँग प्रमाणको मूल्याङ्कन गर्ने सक्ने कार्यक्षमताको अभाव रहेको देखियो।’

२०७९ मंसिर ४ गते आम निर्वाचनको साँझ बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो।अभियुक्तहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामै राख्नुपर्ने आदेश दिएको भए पनि सर्वोच्चको राउत संलग्न इजलासले गत पुस १९ गते साधारण तारेखमा छाडिदिएको थियो।

आफ्नो नाम उल्लेख नगरेका एकजना उजुरीकर्ताले राउतमाथि श्रीमतीसँगको सम्बन्ध, न्यायाधीशको नैतिकता, आचरणजस्ता विषयमा प्रश्न गरेका छन्। उजुरीकर्ताले सोधेका छन्, ‘श्रीमतीसँगको विवादित झगडिया तपाईं प्रधानन्यायाधीश हुँदै हुनुहुन्छ। न्यायाधीशको नैतिकताको मापन के हो ? हाइड्रोपावरमा लगानी गर्ने, सांग्रिलामा पौडी खेल्ने, अपार्टमेन्टमा लगानी गर्ने माननीय सर्वोच्च अदालतका न्यायाधीश उपर छानबिन हुन्छ कि हुँँदैन ?’

शक्तिको दुरुपयोग गरी आफ्नी श्रीमतीमाथी हिंसा गरेको, घरनिकाला गरेको, न्यायको प्रयासमा अवरोध गरेको, आफ्नो हस्ताक्षर किर्ते गरेको आरोप लगाएर कानुनी झमेलामा फसाएको प्रहरी लगाएर थुनाएको आरोप राउतमाथि लागेको छ।

यसैगरी चितवनकी एकजना ज्येष्ठ नागरिक एकल महिलाले जग्गासम्बन्धी मुद्दामा विपक्षीको प्रभावमा परेर राउतले त्रुटिपूर्ण फैसला गर्दै आफ्नो उठिबास लगाउने काम गरेको भनी समितिमा उजुरी दिएकी छन्। त्यस्तै, राउतविरूद्ध नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका छन्।

अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको विषयलाई उठाएका छन् ।

प्रस्तावित प्रधान न्यायाधीश राउतविरूद्ध संसदीय सुनुवाइ समितिले बुधबार सुनुवाइको तयारी गरेको छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज २० गते अनिवार्य अवकासमा जाने भएपछि राउतलाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। प्रधानन्यायाधीशमा अनुमोदन भए राउतले ०८२ चैत १७ गतेसम्म सर्वोच्चको कमाण्ड सम्हाल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्