Logo

उपभोक्ताको हित र स्वच्छ बजार राज्यको प्राथमिकतामा परेन, बजारमा कालाबजारी, सिन्डिकेट, कार्टेलिङ छः उपभोक्ता अधिकारकर्मी तिमिल्सिना



काठमाडौं, १५ असोज । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले राज्यको प्राथमिकतामा उपभोक्ताको हित र स्वच्छ बजारको विषय पर्न नसकेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपभोक्ता अधिकार, स्वच्छ बजार, बजारमा हुने सबैखाले विभेद, कार्टेलिङ, कालोबजारीको विषयमा राज्यको आँखा नपुगेको बताए ।

दशैं, तिहार, छठको मुखमा बाढी पहिरो लाग्नुअघि नै नेपालका तेल उद्योगीहरुले तेलमा प्रतिलिटर ३० रुपैयाँ बढाएको उनले बताए । मूल्य वृद्धिका विषयमा सरकारले कुनै पनि किसिमको कारबाही गर्न नसकेको उनको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले दाल, चामललगायत अन्य खाद्य वस्तुहरुमा पनि अहिले बाढी पहिरोका कारण नोक्सान भयो भन्ने बहानामा मूल्य वृद्धि भइरहेको बताए । राज्य उपभोक्ताको हक हित संरक्षणका विषयमा निरपेक्ष बन्दै गएको उनको आरोप छ ।
बाढी पहिरोका कारण सडक सञ्जाल टुट्नेवित्तिकै हवाइ सेवा प्रदायकहरुले कार्टेलिङ गरेर मूल्य बढाएको उनले बताए । उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाका अनुसार यस्तो अवस्थामा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले व्यवसायीसँग पुनः हार गुहार गरेर हवाई भाडा घटाउन लगाएका थिए । यस्तो अवस्थामा पनि राज्य निरीह हुनु लज्जास्पद रहेको उनको भनाइ छ ।

कालोबजारी नियन्त्रण गर्ने, कृतिम अभाव नियन्त्रण गर्ने, अखाद्य वस्तुको बेचविखन नियन्त्रण गर्ने कानुनहरुलाई राज्यले कार्यान्वयन गर्न चुक्दा बजारमा अराजकता बढेको उनको निश्कर्ष छ । सडक सञ्जाल, हवाई सञ्जाल, खाद्यवस्तुलगायत विभिन्न विषयमा सरकार निरपेक्ष बस्न नहुने उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाको सुझाव छ ।

अहिलेको प्राकृतिक विपत्तिको बेलामा पनि जिम्मेवार निकायहरु विदेश शयरमा रमाइरहेको भन्दै उनले आपत्ति जनाए । ‘सरकारले बाटो विराएको छ, सरकार चुकेको छ । आजको सञ्चार माध्यममा हेर्ने हो भने प्रहरी प्रमुख, विपद् प्राधिकरणका प्रमुख जो जिम्मेवार हुनुपर्ने व्यक्तिहरु लामो समयसम्म विदेशमा शयर गर्नुभएको छ । उहाँहरुलाई नागरिकको पीडाले पोलेकै छैन,’– उनले भने ।

अहिले बजारमा नागरिकको अनुहार हेरेर वस्तु र सेवाको मूल्य तोक्ने प्रवृत्ति देखिएको उनले बताए । उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले बाढी पहिरो आउनु अगाडिदेखि नै सुरु भएको अग्रिम टिकट बुकिङ र हवाई टिकटको सन्दर्भमा पनि नागरिकलाई आतङ्कित पारिएको बताए ।

विहान बेलुका मजदुरी गरेर खाने व्यक्तिहरुले अहिले किनेर खान सक्ने अवस्था नरहेको उनले बताए । ‘सरकारको नियमन नभएर मूल्य बढेको हो । किसानले मूल्य प्राप्त गर्न सकेका छैनन् । उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने, किसानले मूल्य प्राप्त गर्न नसक्ने । बहाना के भयो भने बाढी पस्यो । मुग्लिनमा गएको पहिरोलाई आधार मानेर कालिमाटी र बल्खुको तरकारी बजारमा मूल्य बढ्ने, रुस र युक्रेनको युद्धका कारण काठमाडौंमा गोदाममा भएको चामल र तेलमा मूल्य बढ्ने राज्यमा अनुगमन र नियमन नागरिकमैत्री छैन,’– उनले भने ।

बजार स्वच्छ, प्रतिस्पर्धी, उपभोक्ता मैत्री हुनुपर्ने र कुनै पनि वस्तुको सिन्डिकेट, कालोबजारी, कार्टेलिङ नहुनका लागि राज्यले अनुगमनलाई तीब्रता दिन आग्रह गरे । उनले व्यवसायीहरुलाई संकटको बेला इमानदारिता देखाउन आग्रह गरे ।

बजारमा कालोबजारी पनि छ, कृतिम अभाव पनि छ । सिन्डिकेट, कार्टेलिङ पनि छ । उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य तोक्ने काम पनि रोकिएको छैन । बजारमा विधिको शासनको अनुभूति नागरिकले गर्न नपाएको अवस्थामा राज्यको सबै निकायलाई आग्रह गर्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्