Logo

कसले भाँड्यो अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशन ?



काठमाडौं । असोज १० गतेबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।

बिहीबारदेखि दसैँ सुरु भएको र देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना भएकाले बन्दसत्र स्थगित गरिएको क्रान्तिकारीको अध्यक्षमण्डले जनाएको छ ।

बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदनउपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदा समेत निर्वाचनको सबै प्रक्रिया पुरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबिच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरेको बुधबार जारी गरेको जरुरी सूचनामा उल्लेख छ ।

१० असोजबाट सुरु भएको महाधिवेशनमा उमेर हद लागू गर्ने कि नगर्ने भन्नेमा चरम विवाद भएको थियो । हालका पदाधिकारी तहमा रहेका नेताहरु उमेर हद राख्न नहुने पक्षमा थिए भने तेस्रो तहका नेताहरु जसरी पनि उमेर हद राखुनुपर्ने पक्षमा थिए । यही विवाद बढ्दै जाँदा सोमबार महाधिवेशन स्थलमा कुटाकुटसमेत भएको थियो ।

निवर्तमान उपाध्यक्षसमेत रहेका तुकमान महरा नेततृ्वमा रहेका युवाहरु कुटपिट खुकुरी प्रहारमा उत्रिएको अर्को पक्षको आरोप छ । दुई समूहबीच हात हालाहाल हुँदा दर्जनौं कुर्सी फोडिएका थिए । खुकुरी प्रहारमा उत्रिने महरा पूर्व मुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री हुन् ।

यसअघि अखिल क्रान्तिकारीले बुधबारको बन्दसत्रलाई मात्रै स्थगित गर्दै बिहीबारदेखि सुरु हुने सूचना जारी गरेको थियो। तर, मुख्य विवादमै सहमति नजुटेपछि सम्मेलन स्थगित गरिएको बताईएको छ। उमेर हद राख्दा हाल पदाधिकारी तहमा रहेका कोही पनि व्यक्ति अध्यक्ष बन्न नसक्के अवस्था बनेको थियो । क्रान्तिकारीको पदाधिकारीमा रहेका सबै नेताहरु ३५ वर्ष भन्दा माथिका छन् । बढीमा ३२ वर्षसम्मको उमेर हद राख्ने प्रस्ताव सोही कारण आकांक्षीले अस्वीकार गरेका थिए।

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औँ राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ सुरु भएको सम्मेलन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

नेता उत्पादन गर्ने नर्सरीको रुपमा लिईने विद्यार्थी संगठनको नेतृत्व लिन २ दर्जन नेताहरुले आकांक्षा राखेका छन् । काठमाडौंमा सुरु भएको सम्मेलनबाट अध्यक्ष बन्नका लागि १७ जना उपाध्यक्ष र एक महासचिव सहित १८ जना प्रतिस्पर्धामा थिए । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुक बाहिर रहेको र कल्पना मियाँ प्रतिनिधि सभाको सांसद भइ सकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा थिएनन् ।

संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा थिए ।

प्रतिस्पर्धी धेरै भएपनि अन्तिममा पुन, कार्की, रेग्मी र मैनालीबीच भिडन्त हुने देखिएको थियो । महासचिव रहेका दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । अघिल्लो कार्यकालमै अध्यक्षका लागि दाबी गरेका उनलाई यसपटक सर्वसम्मत अध्यक्ष बनाउने आश्वासन दिईएको थियो । तर,पछिल्ला दिनमा उनी सुन तस्करी र सहकारी ठगीको घटनामा जोडिएका छन् । उनलाई नेतृत्व दिन नहुनेमा धेरै नेताहरुको जोड थियो । पुनलाई उपमहासचिव वर्षमान पुन लगायतका समर्थन रहेको छ ।

पुनपछि अध्यक्षका अर्का दावेदार पवन कार्की हुन् । एकता प्रक्रियाबाट माओवादी आएका उनलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको साथ रहेको चर्चा छ । पञ्चा सिंह अध्यक्ष रहँदा संगठनमा समान्तर कमिटी चलाएका थिए । अर्का दाबेदारमा नरेश रेग्मी पनि हुन् । उनी संगठनको प्रशिक्षणमा अग्रसर नेता हुन् । उनलाई महासचिव देव गुरुङ, उपाध्यक्ष पम्फा भुसाल, सचिव राम कार्की, नेतृ रेखा शर्मा र माधव सापकोटा लगायतको साथ छ । पार्टी अध्यक्ष प्रचण्डले रेग्मीलाई साथ दिनसक्ने केही नेताहरूको दाबी थियो । तर, प्रचण्डले यसबारे मुख खोलेका छैनन् ।

वरिष्ठ उपाध्यक्ष इन्द्र भुसाल, उपाध्यक्षहरू नारायण खनाल, मदन भूल, क्षितिज सापकोटा, प्रवीणा अधिकारी, तुकमान महरा र केशव रावल लगायत पनि अध्यक्षका दाबेदार छन् । उनीहरूमध्ये मदन भूललाई जनार्दन शर्माले पनि साथ दिने चर्चा थियो । यस्तै, वर्तमान अध्यक्ष सिंह र पार्टी सचिव देवेन्द्र पौडेलको समर्थन पनि भुललाई नै रहने चर्चा थियो ।

शर्मा पक्षका नेता भन्छन्: प्रचण्डको आदेशमा महाधिवेशन भाँडियो

त्यसोत, महाधिवेशन सुरु भएकै दिन सर्वसम्मत नेतृत्व चयन नहुने,मतदानमै जाने र निर्वाचन प्रक्रिया लम्बिने निश्चितजस्तै देखिएको थियो । त्यसमा पनि उमेर हदको विवाद थपिएपछि थप गिजोलिएको छ । विवाद बढ्दै जाँदा नेतृत्वले नै हस्तक्षेप गर्ने अवस्था बनेको थियो । बुधबार पनजी निवास खुमलटारमा प्रचण्डले काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठक राखेका थिए । सो बैठकले पनि विवाद मिलाउन सकेन् ।

यसअघि नै प्रचण्डले क्रान्तिकारीको विवाद मिलाउन उपमहासचिव शक्ति बस्नेतलाई जिम्मा दिएका थिए । बस्नेतले क्रान्तिकारीका पूर्व अध्यक्षलगायतसँग छलफल पनि गरेका थिए । तर,पनि पार लागेन र अन्तत: महाधिवेशन नै स्थगित भयो ।

उमेर हदको विवाद र नेतृत्वका आकांक्षी बढेपछि प्रचण्डले पटक पटक खुमलटारमा बोलाएर छलफल गरेका थिए । नेतृत्वका आकांक्षीलाई विद्यार्थी राजनीतिबाट विदा लिएर पालिकार संघीय निर्वाचनको उम्मेदवार बन्ने तयारी गर्न प्रचण्डले अनुरोध गरेका थिए । तर, जीवनको एक दशकभन्दा धेरै समय विद्यार्थी राजनीतिमा खन्याएका उनीहरु प्रचण्डको अनुरोध सुन्ने पक्षमा थिएनन् । र सुनेनन् । प्रचण्ड आफूले पनि विवाद मिलाउन नसकेपछि बस्नेतलाई जिम्मा दिएका थिए ।

अनिश्चितकालका लागि महाधिवेशन स्थगित भएपछि नेताहरुले असन्तुष्टि जनाएका छन् । उपमहासचिव जनार्दन शर्मा निकटका विद्यार्थीहरु खुमलटारको हस्तक्षेपका कारण महाधिवेशन रोकिएको दाबी गर्छन । ‘उमेर हद मानेर जाने पक्षमा हामी थिर्याैं । मतदानबाट उमेर हद लगाउने टुंगोमा पुगे हामीलाई आपत्ति थिएन् । तेस्रो तहका नेतालाई नेतृत्व सुम्पिन हामी तयार थियौं । तर,एकाएक महाधिवेशन स्थगित गरेर अनिश्चयमा धकेल्ने काम भयो । यसले आम विद्यार्थीमाझ राम्रो सन्देश गएन’ एक नेताले भने ।



प्रतिक्रिया दिनुहोस्