Logo

महाधिवेशन भाँडिएपछि प्रचण्ड भेट्न खुमलटार पुगे क्रान्तिकारीका नेता, सम्मेलन असफल भएको दुष्प्रचार नगर्न निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को महाधिवेशन बीचमै भाँडिएपछि विद्यार्थी नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

आज बिहान खुमलटार बोलाएर प्रचण्डले सम्मेलनलाई सम्पन्न गराउने विषयमा छलफल गरेका हुन्। असोज १० गते कीर्तिपुरमा प्रचण्डले उद्घाटन गरेको महाधिवेशनमा विवाद भएपछि बुधबार अनिश्चितकालका लागि भन्दै स्थगित भएको थियो ।

देशमा आएको अविरल वर्षा, बाढी, पहिरो र ठुलो जनधनको क्षतिकाबीच सुरु भएको बन्दसत्र प्रतिकूल मौसम, तयारीमा देखिएको अपूर्णता र उमेरहदको गम्भीर बहस आदिको बीचबाट अरु केही दिन लम्बिने निश्चित देखिएपछि स्थगित भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

‘दशैंको मुखमा सहभागी विद्यार्थी र अभिभावकको बेचैनी तथा व्यवस्थापकीय पक्षमा देखिएको जटिलता समेतलाई ध्यानमा राखी निर्वाचन आयोगको तर्फबाट अध्यक्ष मण्डललाई दिएको परामर्शलाई ध्यान दिदै अध्यक्षमण्डलले अर्को सूचनामार्फत आव्हान गर्ने गरि तत्काललाई सम्मेलनको बन्दसत्र स्थगन गरेको छ’ मल्लले भनेका छन् ।

बन्दसत्र मात्र स्थगित भएको हुँदा महाधिवेशन भाँडियो भन्ेर गलत प्रचार नगर्न उनले कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ‘बन्दसत्र स्थगन भनेको सम्मेलन भाँडिएको वा असफल भएको होइन। बरु यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समय लिएको हो। हामी कोहि पनि नबहकिऔ, सम्मेलन असफल भएको दुष्प्रचार नगरौं। बरु यसलाई कसरी व्यवस्थित रुपमा र विधिसम्मत रुपमा सम्पन्न गर्ने भन्ने बारेमा सोचौं’ उनले भनेका छन् । आज बिहान मात्रै अध्यक्ष प्रचण्डको अगाडि अध्यक्षमण्डलले यो सम्मेलन सफलतापुर्वक सम्पन्न गरेरै छाड्ने दृढ संकल्प व्यक्त गरेको पनि उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्