Logo

मन्त्री दीपक खड्काले उर्जा क्षेत्रमा चमत्कार गर्नेमा इप्पानका अध्यक्ष कार्की ढुक्क (भिडिओसहित)



काठमाडौं, १७ असोज । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बंगलादेशमा विजुली पुर्याउनका लागि डेडिकेटेड लाइन पुर्याउने र ४० मेगावाट विजुली खरिदविक्री सम्झौता हुनु नेपालका लागि राम्रो पक्ष रहेको बताएका छन् । यसले नेपालको उर्जा क्षेत्रको सम्भावना र भविष्यलाई थप प्रोत्साहन गरेको उनले बताए । बंगलादेशले सन् २०४० सम्ममा ९ हजार मेगावाट विजुली आवश्यक पर्ने प्रक्षेपण गरेको सुनाउँदै उनले अहिले ४० मेगावाटबाटै भएपनि सुरुवात भएको कुरालाई सकारात्मक लिनुपर्ने बताए । अब सरकार जलविद्युतको क्षेत्रमा पूर्वाधार निर्माणमा लाग्नुपर्ने उनको सुझाव छ ।

‘बंगलादेशले ९ हजार मेगावाट विजुली २०४० मा चाहिन्छ भनेको छ । सबैभन्दा ठूलो कुरा ४० मेगावाट गयो भने पनि कम्तीमा यसरी जाँदो रहेछ भन्ने खालको सुरुवात भयो । यो सँगसँगै बढी विजुली पठाउनका लागि, ट्रासमिसन लाइन बनाउने कुराहरु भएको छ । त्यतातिर सुरुवात गर्नुपर्छ । भारतलाई विजुली चाहिराखेको छ, बंगलादेशलाई विजुली चाहिराखेको छ । नेपालभित्र पनि धेरै विजुली खपत गर्नुपर्ने छ । यी सबै पूरा गर्न के गर्नुपर्छ भन्ने सोचेर सरकारले विकासतिर लाग्नुपर्छ,’– उनले भने ।

बंगलादेशका निजी क्षेत्रलाई पनि नेपालमा ल्याएर लगानी गर्नसक्ने वातावरणबारे सरकारले सोच्नुपर्ने उनको भनाइ छ । नेपालमा जलविद्युतको क्षेत्रमा सकारात्मक यात्रा सुरु भएको बताए । ‘भारतलाई पनि अब धेरै विजुली चाहिन्छ, बंगलादेशलाई पनि चाहिन्छ । हामीलाई पनि चाहिन्छ । अब हामीले बेच्नका लागि, खपत गर्नका लागि उत्पादन सुरु गर्नुपर्यो । यो उत्पादनले हामीलाई पुग्दैन । थुप्रै विजुली हामीलाई चाहिन्छ । भारतलाई बेच्न सकियो भने धेरै नै विजुली चाहिन्छ । बंगलादेशमा पनि सुरुवात भएको छ । सरकारले अब गम्भीर हुन आवश्यक छ,’– उनले भने ।

सरकारले उर्जा क्षेत्रको विकासका लागि थुप्रै काम गर्न खोजिरहेको पनि उनले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले गरिरहेको कामका बारेमा बोल्दै उनले विगत एक सय दिनको अवधिमा उर्जा मन्त्रालयको काम हेर्दा केही गर्न खोजेको मार्गचित्र प्रष्ट भएको बताए । ‘अहिले सय दिनभित्रमा केही गर्न खोजेको हो कि भन्ने स्पष्ट खाका अगाडि बढ्ने भान हुँदैछ हामीलाई । अहिले उहाँले गरेको कार्य हेर्दाखेरी मलाई लाग्छ, अब यो क्षेत्रमा विकास हुन्छ । यति बुझ्ने मन्त्री हुँदाहुँदै पनि विकास भएन भने हामीले फेरी कहिले आश गर्ने ? अहिले हामी उहाँप्रति धेरै नै आशावादी छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्