Logo

सोनी रानीको रोदनः मलाई शारीरिक र मानसिक पीडा दिनुमा सिके राउतकै भूमिका छ, घरेलु हिंसाबाट आजित छु’



काठमाडौं, १७ असोज । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दामा उनकी श्रीमती सोनी सिन्धु रानीले प्रतिउत्तर पत्र पेश गरेकी छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा प्रतिउत्तर फिराउँदै सोनीले आफू सम्बन्धविच्छेदको लागि तयार नरहेको उल्लेख गरेकी छन् । बरु उनले आफू पटक–पटक घरेलु हिंसामा परेको र आफूलाई शारीरिक र मानसिक पीडा दिनुमा सिके राउतको भूमिका रहेको उल्लेख गरेकी छन् ।

प्रतिउत्तर पत्रमा उनले घरेलु हिंसाबाट आजित भएर मर्ने योजना बनाउन बाध्य भएको समेत उल्लेख गरेकी छन् । ‘मलाई मानसिक, शारीरिक यातना दिनुमा विपक्षी कै ठूलो भूमिका छ । दाम्पत्य सम्बन्धको परिभाषा नाघेर विपक्षी पतिले म माथि ज्यादति गर्नुभएको छ,’– उनले फिराद पत्रमा भनेकी छन् ।

सिके राउतले आफूसँग दिनरात निहुँ खोज्ने, कुटपिट, झगडा गर्ने गरेको र घर परिवारका अन्य सदस्यले समेत यस्तो अवस्थामा संरक्षण नगरेको उनको भनाइ छ । श्रीमान (सिके राउत) र घर परिवारको ज्यादतिबाट आफू असुरक्षित महशुस भएपछि राष्ट्रिय मानवअधिकार आयोग र भारतीय राजदुतावासमा गुहार मागेको उनले प्रतिउत्तर पत्रमा उल्लेख गरेकी छन् । सोनी भारतीय नागरिक हुन् ।

साथै, सिके राउतले आफूलाई पाँच वर्षसम्म ‘तिमीलाई डिप्रेशन छ’ भन्दै डिप्रेशनको औषधि खुवाएको उनको आरोप छ । आफूलाई डिप्रेशन नै नभएको अवस्थामा सिके राउतले जबरजस्ती औषधि खुवाउँदा स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उनको भनाइ छ । अहिले औषधी खान छाडेपछि आफू स्वस्थ्य बन्दै गएको पनि उनले उल्लेख गरेकी छन् ।

‘परिवारको यातनाबाट बच्न म माइती भारत गए। म माइती मै भएको बेला विपक्षी पति माइतीमा गएर गाली गलौज गरेकोले तथा निजको घरबाट मलाइ तनावहरु उत्पन्न भैरहन्थ्यो । तत्पश्चात हामी राजविराजबाट जनकपुर बस्न आएका थियौ । सोहि बखत विपक्षी पतीले मलाइ पटना लिएर जानुभयो र त्यहाँको पारस अस्पतालमा मेरो उपचार गराउने बहानामा मलाइ तिमिलाई डिप्रेसन छ भन्दै डिप्रेसनको औषधि ख्वाउनु भयो । त्यस बखत उपचारको प्रेसकिप्सन प्रमाणको रुपमा पेश गरेकी छु । त्यसपछि पुनः पटना घुम्न भनेर मुम्बई लगी त्यहाँपनि डिप्रेसनको औषधी खुवाउन लगाउनु भयो । यसरी मलाइ त्यस्तो मानसिक रोग डिप्रेसन नभएपनि डिप्रेसनको औषधी खादा मलाई स्वास्थयमा समस्या हुदै गयो । मसँग झगडा हुँदा तिमीलाइ डिप्रेसन छ धेरै नबोल भन्नु हुन्थ्यो । दिन वित्दै गएता पनि तनाव र यातनाको कमि भएन । यी सवै पारिवारिक कारणले गर्दा नै लगातार ५ वर्षसम्म डिप्रेसनको औषधी खाए । हाल मैले उक्त औषधी खान छोडेकि छु र आफुलाइ आराम गरेकी छु,’– उनले प्रतिउत्तर पत्रमा भनेकी छन् ।



प्रतिक्रिया दिनुहोस्