Logo

रवीन्द्रलाई च्याप्दै लिङ्देनले धवलशमशेरको जिम्मेवारी खोसेपछि राप्रपामा ‘भाँडभैलो’ लोहनीको ‘नोट अफ डिसेन्ट’



काठमाडौं । पूर्व पञ्चहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर पार्टीभित्र चर्को असन्तुष्टि देखा परेको छ । लामो समयदेखि आफ्नो कित्तामा रहेका नेताहरुलाई समेत पछिल्ला दिनमा लिङ्देनले बेवास्ता गरेपछि असन्तुष्टि चुलिएको हो ।

बिहीबार मात्रै उपचारका लागि विदेशमा रहेका महामन्त्री डा धवल शमशेर राणाको जिम्मेवारी खोसेर अन्य विभागमा पठाएपछि राप्रपाको विवाद फेरि एकपटक सतहमा आएको हो । बिहीबार लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेका थिए ।

लिङ्देनले सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहेका छन् ।

यसैगरी पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी दिएका थिए ।

यसअघि राणा संगठन विभागको प्रमुख थिए । राप्रपाले दशैं तिहारलगत्तै देशभर आन्दोलन गनेृ निर्णय गरेको छ । सोही आन्दोलनलाई ध्यानमा राखेर धवलशमशेरको जिम्मेवारी खोसेर उनलाई आन्दोलन परिचालन कमिटीको जिम्मेवारी दिएको नेतृत्वको दाबी छ । यद्यपि पछिल्ला दिनमा अध्यक्षको कार्यशैलीप्रति चर्कोरुपमा प्रश्न उठाउनेमा केन्द्रभागमा उनै राणा रहेका थिए ।

विगतमा राजेन्द्र र धवल एकै कित्तामा थिए । कमल थापाको नेतृत्वमा राप्रपा हुँदा यी दुवैएउटा कित्तामा रहेर चुनावमा होमिएका थिए । धवलकै सहयोगले कमल थापाको विरासत भत्काएर लिङ्देनले राप्रपाको नेतृत्व हत्याएका थिए । तर, लिङ्देनको कार्यशैलीको विरोध गर्दै आगामी महाधिवेशनमा लिङ्देनसँगै प्रतिस्पर्धा गर्नका लागि धवलले तयारी थालेका थिए । उनलाई पार्टीका वरिष्ठ नेताहरु लोकेन्द्र बहादुर चन्द,पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीले साथ दिएका छन् ।

चन्द,लोहनी र राणाको साथ लिएर धवलले आफूविरुद्ध गुट बनाएको भन्दै लिङ्देन असन्तुष्ट छन् । धवलसँग सम्बन्ध बिग्रदै गएपछि उनले पछिल्ला दिनमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई साथमा लिएका छन् । मिश्रलाई साथमा लिएर आफूविरुद्ध आवाज उठाउनेलाई कमजोर बनाउन नै उनले रणनीतिक रुपमा यो कदम चालेको चर्चा पार्टीभित्र हुने गरेको छ ।

यता लिङ्देनले धवलको जिम्मेवारी खोसेपछि पार्टीको निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबारको निर्णय अमान्य हुने भन्दै उनले उक्त कदम अमानवीय भएको जिकिर गरेका छन् । फेसबुकमार्फत लोहनीले भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्