Logo

विपद्को समयमा सरकारले तदारुकता देखाउन सकेन, सर्वदलीय बैठक पनि प्रचण्डले बोलाउनुपर्योः देवेन्द्र पौडेल



काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको समयमा सरकारको उपस्थिति नदेखिएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकामा नै तीन घण्टासम्म गुहार माग्दा पनि सरकारले उद्धार गर्न चासो नदेखाएको बताए ।

‘टिनको टहरामा तीन–तीन घण्टासम्म चार जना व्यक्तिहरु उभिएर सरकारलाई गुहार गर्दा सरकार कहाँ थियो । यो हुम्ला, जुम्ला, जाजरकोट, ताप्लेजुङ होईन । काठमाडौं उपत्यकामा तीन घण्टासम्म बचाउ, बचाउ भनेर नागरिक चिच्याइरहँदा कहाँ थिए हाम्रा हेलिकोप्टर ? राति १२÷ १ बजे पनि होईन । एमाले–कांग्रेसलाई म भन्न चाहन्छु– सरकार कहाँ थियो ?’ उनले प्रश्न गर्दै भने, ‘एक जना पौडिन जानेको नागरिकले बचायो, सरकारको उपस्थिति देखिएन । सबै कुराको मैले विरोध गर्न चाहन्न । सेना, प्रहरीले सहयोग गरेको कुराको मैले विरोध गर्न चाहन्न । सरकारले जुन तदारुकता देखाउन पर्थ्यो, सकेन ।’

रोशी खोलाले बितण्ड मच्चाउँदाखेरी घाइतेहरुको उपचार, राहतको व्यवस्थापन गर्ने कुरामा सरकार चुकेको उनको भनाइ छ । विपद्को समयमा सरकारको भूमिका नदेखिएको उनले बताए । उनले सरकार हराएको टिप्पणी गरे ।
सरकारले यति ठूलो प्राकृतिक विपत्तिमा सर्वदलीय बैठक बोलाएर निकास खोज्ने कुरासमेत सोच्न नसकेको उनको टिप्पणी छ । प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक आह्वान गरेपनि सरकार नैतिक शंकटमा परेर सरकारले अन्तिम समयमा सर्वदलीय बैठक बोलाएको उनले बताए । आपतको बेलामा सरकारले गर्ने कामको तौरतरिका नमिलेको उनको टिप्पणी छ ।

‘सरकारको उपस्थिति, सकृयता पुगेन । जबकी मौसमविद्ले सोचेभन्दा बढी बाढी आउँछ, क्षति हुन्छ भनेर एक हप्ता अगाडिदेखि भनिरहेका थिए । खोई तयारी ? हाम्रो प्रधानमन्त्रीज्यू नेपालको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा जानुभयो । गएको कुरामा हाम्रो आपत्ति छैन । तर, देशमा २ सयभन्दा बढी नागरिकको ज्यान जाने स्थिति आइसक्यो । उहाँ नियमित प्रक्रियामै बसिरहनु हुन्छ । एयरपोर्टमा आएर उहाँले व्यङ्ग्य गर्नुहुन्छ,’– नेता पौडेलले भने ।

उनले प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको हैसियतले गर्नुपर्ने समवेदना, सहानुभूति, श्रद्धाञ्जली, सद्भाव प्रकट गर्न नसकेको टिप्पाणी गरे । प्राकृतिक विपत्तिको बेलामा सरकार पक्ष र प्रतिपक्षमा विभाजन हुन नहुने स्मरण गराउँदै उनले तरपनि वर्तमान सरकारको प्रतिनिधित्व एकदमै कमजोर भएको बताए ।

नागरिकको ज्यान गएको बेला, राज्यमा विपद् आएको बेला सबै एक ठाउँमा हुनुपर्ने र त्यसको संयोजन गर्नुपर्ने निकाय सरकार रहेको उनले बताए । विपद्को बेला सरकारको भूमिकालाई गणितले मापन गर्न नसकेको उनको टिप्पणी छ । ‘इमानदारितापूर्वक सरकारको उपस्थिति कमजोर रह्यो । सरकारले गर्न सकेन भनेर स्वीकार गर्नु नै सहज हुनुहुन्छ,’– उनले भने, ‘दुई तिहाईको भनिएको सरकार जनताको पक्षमा भन्दा पनि कसको पक्षमा गठित भएको हो ? कसको पक्षमा काम गर्छ भन्ने कुरा प्रष्ट हुन सकेन ।’

अब सरकारले बाटो भत्किएको ठाउँमा वैकल्पिक बाटो बनाएर यातायात सुचारु गर्ने, बनाउन सकिने ठाउँमा तत्काल बनाउने, खाद्यन्नलगायतका उपभोग्य सामाग्रीहरुको अभाव हुन नदिएर जनतालाई चाडबाडको समयमा राहत दिनुपर्ने उनको माग छ । यति पनि गर्न नसक्ने हो भने जनताको माझ माफी मागेर मैले काम गर्न सकिँन भन्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्