Logo

निर्वाचन क्षेत्रमै रविविरुद्ध मुर्दावादको नारा लागेपछि रास्वपाले भन्यो: कांग्रेस-एमालेले कार्यक्रम बिथोल्न खोजे



काठमाडौं । दुई दिनदेखि आफ्नो निर्वाचन क्षेत्र चितवन-२ मा सार्वजनिक सुनुवाइ गर्न भन्दै पुगेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध उनकै निर्वाचन क्षेत्रमा उनीविरुद्ध नाराबाजी भएको छ ।

बिहीबारदेखि चितवनमा रहेका लामिछानेले हिजो र आज सार्वजनिक सुनुवाइको कार्यक्रम राखेका थिए । कार्यक्रम चलिरहँदा चितवनमा सहकारी पीडितले प्रदर्शन गरेका थिए । सहकारी ठगीमा रवि जोडिएको र शक्तिको आडमा कारबाहीबाट भागेको भन्दै प्रदर्शनकारीले नारावाजी गरेका थिए । सहकारी वचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा लैजान रविको संलग्नता नरहे पनि गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा प्रत्यक्ष संलग्नता रहेको ठहर गर्दै कानून अनुसार कारबाहीको लागि सिफारिस गरेको थियो । रविका पूर्व व्यापारिक साझेदार छविलाल जोशी १५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । भने रवि पक्राउ परेका छैनन् ।

राजनीतिक प्रतिशोधको आधारमा आफ्नो सभापतिलाई पक्राउ गरिए आन्दोलनमा उत्रिने रास्वपाले चेतावनी दिएको छ । रास्वपाको चेतावनीपछि सरकार पनि तत्कालका लागि रविलाई पक्रने तयारीबाट ब्याक भएको छ । सहकारी पिडितले भने कारबाहीको सिफारिस हुँदा पनि पक्राउ नगरिएको भन्दै आज पनि प्रदर्शन गरेका छन् । शनिबार पनि रविविरुद्ध मुर्दावादको नारा लागेपछि रविको सचिवालयले भने सत्ता गठबन्धनका दुई दल कांग्रेस र एमालेले आफूहरुको कार्यक्रम बिथोल्ने प्रयास गरेको दाबी गरेको छ ।

सभापति लामिछानेको सचिवालयले भनेको छ, ‘कार्यक्रम सुरु हुनै लाग्दा एक हुल कला मन्दिरमा जबरजस्ती प्रवेश गर्न खोज्दै ढुंगा प्रहार गरेका थिए । वास्तवमा तिनीहरु सहकारी पीडित नै होइनन् । कांग्रेस र एमालेका कार्यकर्ताको ढुंगा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी पक्राउ नै परेका छन् । यसबाट पनि उनीहरु सहकारी पीडितको नाममा विथोल्न खोज्दैछन् भन्ने पुष्टि हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्