Logo

झलनाथले मागे प्रधानमन्त्री ओलीको राजीनामा, सरकारमा बस्न नैतिकताले नदिने दाबी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

गत साता परेको अविरल वर्षात्पछि आएको बाढी पहिरोमा परेर सयौंले ज्यान गुमाउँदा सरकारले केही गर्न नसकेको भन्दै उनले सरकार छाड्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै राजीनामा मागेका छन् ।

शनिबार बाढी पीडितलाई राहत वितरण गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले देशको यति ठूलो विपत्ति भोग्दा प्रधानमन्त्री ओली अमेरिकामा घुमेर बसेको भन्दै तत्काल सत्ता छाड्न आग्रह गरेका हुन् । खनालले विपद्पछिको उद्धारमा सरकार पूर्णरुपमा असफल भएको दाबी गरे ।

गत साता परेको अविरल वर्षात्का कारण काठमाडौं उपत्यकासहितका २८ जिल्ला प्रभावित बनेका थिए । उक्त बाढीबाट हालसम्म २३९ जनाले ज्यान गुमाएको छन् भने २० जना भन्दा धेरैको अवस्था अज्ञात छ । मुलुकमा यति ठूलो विपत्ति आइपर्दा प्रधानमन्त्री ओली,परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अर्थमन्त्री विष्णु पौडेलसमेत देशमा थिएनन् । विपद्पछि पनि उनीहरु भ्रमण छोट्याएर स्वदेश नफर्किएको र कार्यवाहकको जिम्मा पाएका उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्