Logo

छक्कापञ्जा-५ को ट्रेलर: नयाँ बोतलमा पुरानै रक्सीको धङधङी !



काठमाडौं । यस वर्षको बडादशैंको छेकोमा सार्वजनिक हुन लागेको बहुप्रतिक्षित चलचित्र छक्कापञ्जा-५ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा इमान्दार सरकारी कर्मचारीले विवाहका लागि गर्न गरेको संघर्ष फिल्मको कथा रहेको अनुमान गरिएको छ ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

इमान्दार सरकारी कर्मचारीले भोग्ने सामाजिक कथामा कमेडीको मज्जा दिने प्रयास गरेको ट्रेलरबाटै देखिन्छ तर ट्रेलर निक्कै फितलो भएको दर्शकको प्रतिक्रिया छ । ट्रेलरमा केदार घिमिरे उर्फ माग्ने बुढाको भूमिका छक्कापञ्जा ४ को भन्दा फरक नभएको र जुनसुकै फिल्ममा पनि दीपकराज गिरीको विवाहकै कथा देखाइएको भन्दै दर्शकले असन्तुष्टि व्यक्त गरेका छन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाको टिमले निर्माण गरेको छक्कापञ्जा आफैंमा बलियो ब्राण्ड भएको चलचित्र हो । सदैव एकल रुपमा फिल्म प्रदर्शन भएपनि यसपटक दीपक दीपले आफ्नै पूर्व सहकर्मी जितु नेपालको मूख्य भूमिका रहेको ज्वाईंसाब र एक्सन स्टारको उपमा पाएका विराज भट्टको निर्देशनमा बनेको एक्सन फिल्म १२ गाउँ फुलपातीकै दिन प्रदर्शनमा आउँदैछन् ।

आफ्नो चलचित्र चलाउन बेलाबखत फण्डा गर्न रुचाउने दिपक-दीपाले यसपटक फिल्मको लागि निर्माण गरेका दुवै गीत अपेक्षा गरे अनुसार चल्न सकेनन् । पहिलो गीत ‘बिहे भाको छैन्’ लाई कपिराइटको आरोप लाग्यो भने २ हप्ताअघि सार्वजनिक भएको ब्रेकअप गीतलाई पनि सरापे गीत भनेर दर्शकले उडाईदिए । एकातिर ब्राण्डभ्यालु बोकेको चलचित्र र अर्कोतिर सफल कलाकारको बाहुल्यता रहँदा रहँदै पनि चलचित्रको ट्रेलरले खासै नयाँ पन नदिएको भन्दै सामाजिक सञ्जालमा छक्कापञ्जा ५ को ट्रेलरलाई नयाँ बोतलमा पुरानै रक्सीको धङधङी बोकेको चलचित्र भन्दै टिप्पणी भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्